१२ बैशाख २०८१, बुधबार
Follow Us

बाढी प्रभावितलाई दैनिक रु ७० का दरले एक महिना नगद

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार १५:०८

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित जिल्लाका बासिन्दालाई प्रतिव्यक्ति दैनिक रु ७० का दरले एक महिनाका लागि एकमुष्ट नगद उपलब्ध गराइने बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागि सरकारले रु एक अर्ब निकासा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चामल किनेर वितरण गर्नुभन्दा एकमुष्ट रकम वितरण गर्नु उपयुक्त हुने देखिएकाले एक महिनाका लागि यस्तो निर्णय गरिएको हो । त्यसपछि यसलाई निरन्तरता दिने वा नदिने भन्ने परिस्थिति हेरेर निर्णय हुन्छ ।”

अति प्रभावित क्षेत्रमा पसलमा खाद्यान्न नपाइने समस्या आएमा नेपाल खाद्य संस्थानमार्फत खाद्यान्न वितरणको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । विपद्का समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा व्यक्तिलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले प्रभावित क्षेत्रमा राहत वितरणका लागि कसैलाई बन्देज नगरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सहयोग गर्न चाहने कसैलाई रोकिएको छैन, रोक्ने मनशाय पनि छैन, राहतको दुरुपयोग नहोस् भनेर स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै प्रभावित बस्तीमा वितरण गर्न आग्रह गरेका हौँ ।”

प्रभावितलाई सहयोग गर्ने नाममा नेपालभित्र र बाहिरसमेत अनाधिकृत रुपमा बैंक खाता खोलिएको जानकारी प्राप्त भएको बताउँदै मन्त्री शर्माले व्यक्तिगत रुपमा कसैले खाता खोल्न नपाउने स्पष्ट पार्नुभयो । सरकारको स्वीकृति लिएर भने सहयोगका लागि खाता खोल्न सकिने छ । कोशी, कर्णाली र गण्डकीमा ठूला जलाशययुक्त आयोजना निर्माण गर्न सकेमा नेपालले पानी नियन्त्रण गर्न सक्ने र यसबाट एकातर्फ विद्युत् उत्पादन र अर्कोतर्फ बाढी नियन्त्रण हुने विचार पनि उहाँले राख्नुभयो ।

१३५ को मृत्यु

बाढीपहिराका कारण ३० जिल्ला प्रभावित भएको र हालसम्म १३५ जनाको मृत्यु भएको छ । त्यस्तै ३५ बेपत्ता र ४१ घाइते भएको बताइएको छ । गृहमन्त्रीले रौतहटमा हराएका भनिएका पाँच जना घर फर्किएको तथा अन्य बेपत्ताको खोजी जारी रहेको जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित पूर्ण क्षति घर ७९ हजार ८१२ र आंशिक घर क्षति एक लाख चार हजार ४२५ भएको प्रारम्भिक विवरण मन्त्रालयलाई प्राप्त भएको छ ।
बाढी, डुबान प्रभावित जिल्लामा त्रिपाल ५३ हजार ४५५, झुल दुई ६४५, कम्बल दुई हजार २७२, मेट्रेस ५९२, झुल र भाँडाकुँडा एक हजार ८०५, चामल चार हजार ४६ क्विन्टल, पीठो पाँच हजार ४१८ किलो, दलहन १० हजार ६३५ किलो र चिउरा ६२ हजार ९७९ किलो वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाबाट ११ हजार ४००, नेपाल प्रहरीबाट आठ हजार २५१ र सशस्त्र प्रहरी बलबाट छ हजार ८५२ तालीमप्राप्त जनशक्ति र राष्ट्रसेवक कर्मचारी दुई हजार ५०० सहित २९ हजार तीन जना खोज तथा उद्धारमा प्रत्यक्ष खटिएका छन् । बाढी तथा डुबान प्रभावित जिल्लामा फसेका ४० हजार ५७८ व्यक्तिको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।