७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन आयोगको आलोचना

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७४, आईतवार ११:४३

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदनलाई गराउनुभयो ।

त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारीबाहेक केही होइन भन्दै उहाँले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग गर्नुभयो । “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम ग¥यो”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।”

शनिबार राति बूढानीलकण्ठमा स्थानीयवासीले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेका अवस्थामा नियन्त्रणमा लिएर आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो ।

बैठकमा एमालेका शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीबाट यसै साता हुनलागेको भारत भ्रमणका बेला उताबाट एकतर्फी रुपमा बनेका बाँध र तटबन्धका कारण नेपाली भूमी डुबानमा परेकाले त्यसको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसँग गम्भीर वार्ता गर्नुपर्नेमा जोड दिनुभयो ।