१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाढीपीडितलाई सहयोग पठाउन लण्डन दूतावासले समन्वय गर्ने

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७४, आईतवार २०:४२

युकेस्थित विभिन्न संघसंस्थाहरुले नेपालमा सहयोग पठाउने कार्यमा लण्डनस्थित नेपाली दूतावासले सहयोग गर्ने जनाएको छ।
शनिबार दूतावासमै आयोजित एक छलफल कार्यक्रममा ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा आएको बाढीपहिरोमा स्वतस्फुर्त तथा संस्थागतरुपमा सहयोग संकलन गरिरहेका एवम् सहयोग पठाइसकेका सबै संघसंस्थालाई धन्यवाद दिनुभयो।

दूतावासले बोलाएको आकस्मिक बैठकलाई संबोधन गर्दै राजदूत सुवेदीले नेपाल सरकारको निर्देशन अनुसार बाढी पहिरो पीडितहरुको सहयोगकालागि संकलन गरिएको नगद तथा जिन्सी बाढी पीडितसम्म छिटो छरितो ढंगले पुराउन त्रिभुवन विमानस्थल लगायतका निकायमा दूतावासले समन्वय गर्ने जानकारी दिनुभयो।

प्राकृतिक विपत्तिमा नेपाल सरकारबाट जारी राहत, खोज र उद्धार कार्यबारे जानकारी दिंदै राजदूत सुवेदीले बाढी पीडितहरुलाई जुनसुकै जिल्लामा गएर सहयोग प्रदान गर्न सकिने, त्यसमा सरकारको तर्फबाट कुनै रोकटोक नभएको खुलासा गर्नुभयो। कतै सहायता दोहोराएर पुग्ने तर कतै पुग्दै नपुग्ने स्थिति नआओस् भनेर सरकारले समन्वय गर्न खोजेको पनि उहाँले बताउनुभयो।

सो अवसरमा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले राहत वितरण कार्यक्रममा कुनै अवरोध गर्न नहुने, बेलायतस्थित विभिन्न संघसंस्था तथा नेपाली दूतावासबीच समन्वय गरिंदा राम्रो हुने लगायतका सुझाव दिएका थिए।

प्रवासी नेपाली मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा सहयोग पठाउने विषयमा गत साता आएर आफुहरुले दूतावासमा छलफल गरेको र झण्डै दुईहजार पौण्ड सहयोग संकलन गर्ने उद्देश्यले सहयोगका लागि आह्वान गरेकोमा अहिलेसम्म ६ हजार पौण्डभन्दा बढी रकम संकलन भैसकेको जानकारी दिनुभयो। अरु संघसंस्थाहरुले पनि आफुहरुले उठाइरहेको सहयोग अभियानबारे जानकारी दिएका थिए।

बाढी तथा पहिरो पीडित परिवारहरुलाई बेलायतका विभिन्न संघसंस्था र समाजबाट प्राप्त हुने सहायता सम्वन्धमा आवश्यक समन्वय गर्ने कामका लागि दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई संयोजक तोकिएको दूतावासले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।