१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘स्वदेशी खानू स्वदेशी लाउनू, स्वदेशी बोल्नू’

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७४, सोमबार १६:१९

काठमाडौं । युवक कवि मोतीराम भट्टको १५२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ गजल वाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा वक्ताले भट्टले गजल, भाषा–साहित्यमा समालोचना तथा शृङ्गारिक धाराको शुरुआत गरी नेपाली साहित्यलाई समृद्ध बनाएको विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यका बहुमुखी प्रतिभाशाली व्यक्तित्व भट्टमा नेपाली, संस्कृत, उर्दूलगायत अन्य भाषाको राम्रो ज्ञान रहेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरीले स्वदेशी खानु, स्वदेशी लाउनु र स्वदेशी बोल्नुपर्दछ भन्ने राष्ट्रवादी चिन्तन बोकी भट्टले साहित्यिक र भाषिक भावनाबाट समाजमा जागरण ल्याउने काम गरेको बताउनुभयो ।

प्राज्ञ अमर गिरीले आदिकवि भानुभक्त आचार्यका विषयमा भट्टले खोज–अनुसन्धान गरी लेखेका विषयवस्तुलाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रुपमा ग्रहण गरेपछि आदिकवि आचार्यबारे धेरैलाई ज्ञान भएको बताउनुभयो ।

पिता दयाराम र माता रिपुमर्दिनीदेवीका दोस्रो सन्तानका रुपमा विसं १९२३ कुशेऔँसीका दिन काठमाडौँमा जन्मेका भट्टको ३० वर्षका उमेरमा कुशेऔँसीकै दिन निधन भएको थियो ।