१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा नेपाली फुटवलरको क्रेज

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ०८:१५

किरण मरहठ्ठा, न्यूयोर्क । “दे विल डेफिनेट्ली डेब्यू टु मेजर लिग सकर (उनीहरु मेजर लिग सकरमा अवश्य खेल्ने छन् ।)” प्रशिक्षण सत्रबाट छोटो ब्रेक लिएर प्रशिक्षक माइकल लोडेस्माले भने । “हाम्रा खेलाडीको फुटवल मोह र पारिवारिक सहयोग यति उच्च छ की उनीहरुलाइ लक्ष्य चुम्न रोक्न सक्ने शक्ती छैन ।” डिबक्समा उभिएका अर्का प्रशिक्षक एन्डि लेभीले थपे ।

माइकल र एन्डि यूनाइटेड शेर्पा एसोसीयसनद्धारा न्यूयोर्कमा संचालित यूनाइटेड शेर्पा फुटवल क्लव (यूएसएफसी)को सकर एकेडेमीका अमेरिकन प्रशिक्षकहरु हुन । हरेक आइतवार विहान र शुक्रबार सांझ उडसाइडमा रहेको अत्याधुनीक प्रशिक्षण केन्द्रमा नेपाली खेलाडीहरु अमेरिकी फुटबलमा आफ्नो सपनाको मलजल गरिरहेका देखिन्छन् । “बालबालिकालाइ छुट्टिको समयमा अतिरिक्त प्रतिभा विकास गर्ने उदेश्यले १३ जना खेलाडिबाट शुरु गरेका थियौँ, समुदायको विश्वासका कारण नै यत्तिको सफल भइयो ।”

यूनाइटेड शेर्पा एसोसीएसनका अध्यक्ष उर्गेन शेर्पाले भने । “एकता,शक्ति र समुदायको लागी मैत्रीपुर्ण भावना” भन्ने मुल नाराको साथ सन् २०१२ मा स्थापना भएको युएसएफसीमा हाल १५० खेलाडीहरु छन् भने उनीहरुले राज्य तहका केहि महत्वपुर्ण प्रतियोगिताहरुमा सफलता पनि हात पारिसकेका छन् । “अभिभावकको विश्वासलाइ गुम्न नदिनु र खेलाडीहरुको क्षमता विकास नै हाम्रो मुख्य चुनौति हो ।”

स्थापनाकालदेखि नै व्यवस्थापनको जिम्मेवारि सम्हलेका छिरिगं ग्याल्जेन भन्छन् । प्रशिक्षणको क्रममा कुनै गुनासो नहोस भनेर उनी हरेक प्रशिक्षण सत्रमा मैदानमै पुग्ने गरेका छन् । अमेरिकामा नेपालीद्धारा पहिलो पटक संचालन गरिएको यो एकेडेमीमा सात बर्ष देखि सत्रबर्ष उमेर समुहका खेलाडीहरु छन् । क्लबमा ९जना प्रशिक्षकहरु छन् । प्रशिक्षकको पारिश्रमिकको लागी प्रतिखेलाडि १५० डलर प्रतिसिजन शुल्क तोकिएको छ । शेर्पा एसोसीएसनले प्रशिक्षकको पारिश्रमिक बाहेक सबै खर्च आफैँ बेहोर्ने गरेको क्लबका संस्थापक सदस्य सांग्बो शेर्पाले बताए । “बालबालिकाको करियर निर्माण हाम्रो चासो हो त्यसैले सकेसम्म कम शुल्क लिएका हौँ ” उनले भने ।

क्लबले विभिन्न उमेर समुहका क्षेत्रीय प्रतियोगिताहरुमा भाग लिएर उपलब्धिहरु चुमिसकेको छ । यूथ १२को टिम क्विन्स सकर फाउन्डेसनको इन्डोर लिग २०१७ को च्याम्पियन बनेको थियो । न्यूयोर्कको पुर्वी क्षेत्रमा खेलाइने इस्टर्न न्यूयोर्क सकर एसोसिएसनको मेट्रो किड्स लिगमा यूथ ११ र युथ १५ टिम २०१७ कोउपविजेता बनेको थियो भने २०१६ मा यूथ९, युथ१३ र यूथ१५ ले क्रमसः दोस्रो, तेस्रो र चौँथो स्थान हात पारेका थिए । स्थापनाकालमा प्रशिक्षक रहेका पुर्वराष्ट्रिय खेलाडी सानु शेर्पाको विचारमा, प्रवासमा रहेर युएसएफसीले हासिल गरेको उपलब्धिले नेपालको पहिचान फराकिलो बनाएको छ ।

“खेलाडिको आत्मविश्वास र व्यवस्थापनको दक्षता उच्चस्तरको छ, यी खेलाडि कुनै पनि प्रतियोगिताका लागी तयार छन् ।” शेर्पाले भने । फुटबललाइ ९० प्रतिशत मानसिक र १० प्रतिशत
शारिरिक खेल बताउने प्रशिक्षक माइकलका अनुसार नेपाली खेलाडीहरु शारिरिक रुपमा पनि अमेरिकीहरु भन्दा कमजोर नरहेको दाबी गर्छन ।
यो एकेडमीको अर्को शसक्त पक्ष भनेको अभिभावकको सहयोग हो । प्रशिक्षणमा सबै अभिभावक उपस्थित हुन्छन् । “शेर्पा केदुगंको यो प्रयासले हामो छोराछोरिलाइ नयाँ भविश्य दिएको छ ।” अभिभावक बसन्ति लामाले भनिन। । अर्का अभिभावक टेन्डी शेर्पाको भनाइमा अमेरिकी भूमीमा नेपाली बालबालिकाको लागी यो ठुलो अवसर हो ।
यो क्लबको मुख्य चुनौती भनेको प्रशिक्षण केन्द्र हो । साविकको प्रशिक्षण केन्द्रको सम्झौता केहि महिना पछी सकिदैछ । तत्काल अर्काे व्यवस्था गर्न नसक्ने हो भने अर्काे लिगका लागी तयारी गर्न सकिन्न तर एसोसिएसनका अध्यक्ष शेर्पा भने यस्तो चुनौतिबाट नै आफ्नो यात्रा अगाडि बढेको स्मरण गर्दै भन्छन् “युएसएफसीलाइ पहिलो डिभिजनको अमेरिकी क्लब नबनाउदासम्म रोकिने छैनौँ ।”