४ बैशाख २०८१, मंगलवार
Follow Us

गगन र शेखर किन पुगे निर्वाचन आयोग

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार १५:०१

काठमाडौं । नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं. ४ र ५ का नेता कार्यकर्ताहरुले बुढानिलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनका क्रममा अनियमितता भएको भन्दै तत्काल छानविन गर्न माग गरेका छन् ।
काँग्रेस नेता शेखर कोइराला, क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा सहित काँग्रेस नेता कार्यकर्ताहरुको टोलीले आज चार बुँदे मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै छानविन गर्न माग गरेको हो ।
बुढानिलकण्ठ नगरपालिकामा अनधिकृत रुपमा कार्यालय बाहिर संकलन गरीएका सम्पुर्ण मतदाता नामावलीको छानवीन गरि बदर गर्नु पर्ने र नगरपालिका कार्यालयमा संकलन गरिएका सवै मतदाता नामावलीको भने छानविन गरिनु पर्ने माग निवेदनमा गरिएको छ ।
त्यसैगरी कर्मचारी तथा जनप्रतिनिधिको अनधिकृत क्रियाकलापका कारण बुढानिलकण्ठ नगरपालिकाका धेरै बासिन्दाले नाम दर्ता गर्न नपाएकाले नाम दर्ता गर्ने लगायतका कार्यका लागि पुनःव्यवस्था गर्न पनि माग गरिएको छ ।
निवेदनमा अनधिकृत रुपमा मतदाता नामावली सङ्कलन कार्यमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिलाई प्रचलित नेपाल कानुन तथा सार्वजनिक सुरक्षा ऐन समेतका आधारमा हदै सम्मको कारवाही गर्न आयोगको ध्यानाकर्षण गराइएको छ ।
साथै कर्मचारीहरुले नाम दर्ताको लागि आउने नागरिकलाई अनावश्यक झन्झट दिने र कार्यालय समय बाहिर नेकपा एमालेका नेताको घरमा रातभर बसी तोकिए बमोजिको कुनै कागजपत्र नहेरी मतदाता नामवली संकलन गराउने कार्य भएको निवेदन दर्तापछि जारी विज्ञप्तीमा उल्लेख छ ।
भाद्र ३ गते आयोगले तोकेको समय सकिएपछि नेकपा एमाले नगर समित संयोजक दीपक निरौलाको घरमा वडा नं ९ का अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, एक जना वडा सदस्य, निर्वाचनमा खटिएका कर्मचारी आकृत खत्री लगायतका व्यक्तिहरू मतदाता नामावली संकलन तथा दर्ता गरिरहेको समयमा निर्वाचनका सामाग्री सहित पक्राउ परेको विज्ञप्तीमा जनाइएको छ ।
“जिम्मेवार राजनीतिक दलको जिम्मेवार पदाधिकारीको घरमा, जनप्रतिनिधिहरूको प्रत्यक्ष संलग्नतामा, निर्वाचन आयोगवाट खटाईएका कर्मचारी प्रतिनिधि समेत उपस्थित भएर रातभर फोटो खिच्नेकार्य हुनु अत्यन्तै लज्जाजनक विषय हो,” विज्ञप्तीमा लेखिएको छ ।
त्यस दिन बाहेक अन्य दिनहरूमा समेत कार्यालय समय बाहिर अनधिकृत रुपमा विभिन्न नेताका घरमा त्यसरी नै फोटो खिच्ने कार्य भएका प्रमाणहरू भेटिएको बताइएको छ ।
एकातर्फ कार्यालय समयमा नियोजित भिडभाड गर्ने, सर्वसाधारण नागरिकलाई फोटो खिच्नवाट बञ्चित गर्ने र अर्कोतर्फ कार्यालय समयपछि पार्टीका नेताका घरमा फोटो खिचाउने कार्य आफैमा अनैतिक र खेदजनक भएको काँग्रेस नेता कार्यकर्ताहरुको भनाई छ ।
यो घटनाले निर्वाचन आयोग जस्तो संवैधानिक निकायको विश्वसनियता, स्वच्छ निर्वाचन र निर्वाचन प्रकृयाको पारदर्शीतामा प्रश्न चिन्ह खडा भएको र आम नागरिकले मताधिकारको लागि स्वतन्त्र रुपमा आफनो नाम दर्ता गराउन नपाएको तर्फ विज्ञप्ती मार्फत् निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ।
घटना पश्चात नेपाली काँग्रेस लगायतका बिभिन्न पार्टीहरूले सत्य तथ्य छानविन गर्न, कार्यालय समय वाहिर संकलित नामावली बदर गर्न र दोषी कर्मचारी तथा जनप्रतिनिधिलाई कारवाही गर्न माग राख्दै भाद्र ४ गतेदेखि बुढानिलकण्ठ नगरपालिका कार्यालयमा धर्ना लगायतका विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेका थिए ।
तर धर्ना कार्यक्रम भईरहदा पनि आयोगले कुनै कदम नचालेको भन्दै ध्यानाकर्षण गराउन पुगेका सांसद तथा काँग्रेस नेता कार्यकर्ताहरुलाई आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले अभिलम्ब छानविन कार्य अगाडी बढाउने आश्वासन दिनु भएको छ । उहाँले छानविनपछि दोषी पुष्टी भएकालाई कारबाही पनि गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
काँग्रेस काठमाडौको क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ र क्षेत्र नं. ५ का सभापति रमेश खड्काद्वारा जारी विज्ञप्तीमा आयोगको सकारात्मक प्रतिक्रिया आएकाले जनतालाई मर्का नपरोस भन्ने उद्देश्यले बुढानिलकण्ठ नगरपालिका कार्यालयको धर्ना कार्यक्रम स्थगत गरिएको उल्लेख छ ।
मतदाता नामावली छानविन, अनधिकृत नामावलीको बदर र दोषिलाई कारवाही नगरुन्जेल आन्दोलनका अन्य शान्तिपुर्ण कार्यक्रमहरू भने निरन्तर जारी रहने विज्ञप्तीमा स्पष्ट पारिएको छ ।
निर्वाचन आयोगले गत साउन १६ गते देखि यही भदौ ३ गते सम्म देशभरका सवै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो ।