६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको संविधानप्रति भारतको पुरानै धारणा

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७४, बिहीबार १६:२६

नयाँ दिल्ली । भारतले नेपालको संविधानप्रति पुरानै धारणा दोहोर्‍याएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबै नागरिकको आकांक्षा सम्बोधन गर्दै नेपालले संविधान कार्यान्वयन गर्ने’ पुरानै अपेक्षा दोहोर्‍याएका हुन् ।

यद्यपी, दुई चरणमा स्थानीय तहको निर्वाचन भएकोमा बधाई दिँदै मोदीले त्यसले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने आशा भने व्यक्त गरेका थिए । नेपालको आर्थिक समृद्धि र विकास भारतको चाहना रहेको बताएका भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन देउवासँग विशेष छलफल भएको र हिमालय जति कै पुरानो मित्रतालाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने बताए ।

देउवाले आफूलाई अरुण–३ को शिलान्यासको लागि निम्ता दिएकोमा आभार प्रकट गरेका मोदीले पञ्चेश्वरको डीपीआरलाई टुङ्ग्याउने र नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिवद्धता पनि जनाए ।

मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन खोजे पनि संसदमा दुई तिहाई बहुमत नपुग्दा संशोधन हुन नसकेको स्पष्टोक्ति दिएका थिए । उनले भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्ने प्रतिवद्धता पनि जनाए ।

संविधान संशोधन नभएपनि राष्ट्रिय जनता पार्टी निर्वाचनमा जान सहमत भएको जानकारी गराएका प्रधानमन्त्री देउवाले उनले नेपाल–भारतबीच बृहत खालको सम्बन्ध रहेको भन्दै आपसी विश्वास मजबुत बनाउन उच्चस्तरीय तहमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनुपर्ने बताए । कटैया–कुशवाहा र रक्सौल–परवानीपुर विद्युत प्रशारण लाईन विस्तार भएकोमा मोदी सरकारलाई धन्यवाद दिएका थिए ।