१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शशांक, शेखर र सुजाताको अर्थपूर्ण सामूहिक पत्रकार भेटघाट

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७४, शुक्रबार ०४:०४

काठमाडौं । ४ साउनमा सँगै खाना खाँदै सामूहिक तस्बिर खिचाएर एकजुट भएको सन्देश दिएका कोइराला परिवारका तीन नेताले शुक्रबार पत्रकारलाई समेत आमन्त्रण गरेका छन् । बिहान साढे ८ बजे महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित घरमा शशांकसहित डा. शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त पत्रकार भेटघाट राखेका हुन् । सामान्य चियापानका लागि भन्दै पत्रकारलाई आमन्त्रण गरे पनि उनीहरूले ‘राजनीतिक सन्देश’ दिन खोजेका थिए ।

सामूहिक तस्बिर बाहिर ल्याएको एक महिना चार दिनपछि पुनः कोइराला त्रयले सामूहिक रूपमा भेटघाट गर्दै एकताको सन्देश दिन खोजेका छन् । ‘भर्खरै पत्रकारको निर्वाचन पनि सकिएको छ । उहाँहरूलाई बधाई पनि दिउँ भनेर चियापानसहितको भेटघाट राखेका हौँ’ डा. शेखरले नयाँ पत्रिकासँग भने, ‘राजनीतिक विषयमा पनि केही कुराकानी होला ।’ पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी एमालेभन्दा पछि परेको अवस्था, सरकारमा कांग्रेसको प्रभावकारिताजस्ता विषयमा उनीहरूले कुराकानी गर्ने बुझिएको छ ।

१३औँ महाधिवेशनमा बिपीका कान्छा छोरा शशांक महामन्त्रीमा उठेर जितेका थिए । शेखर र सुजाता केन्द्रीय सदस्य छन् । तर, संस्थापनका नेता रामचन्द्र पौडेल सभापतिमा पराजित भएपछि कोइराला परिवारको वर्षौंको विरासत र शक्ति शेरबहादुर देउवाको हातमा पुगेको थियो ।

विरासत नै गुम्न पुगेपछि कोइराला परिवारका तीन नेताबीच आपसमा मिलेर जाने विषयमा पछिल्लो समय औपचारिक÷अनौपचारिक कुराकानी हुन थालेको हो । उनीहरूनिकट स्रोतका अनुसार अब १४औँ महाधिवेशनमा मिलेर जानका लागि उनीहरूले एकपछि अर्को छलफललाई निरन्रता दिएका हुन् ।

पौडेल सभापतिमा पराजित भएका र देउवाको पार्टी सञ्चलानशैली चित्त नबुझेपछि तीन कोइरालाबीच मिलेर जाने सहमति परिपक्व हुँदै गएको छ । यसअघि पनि यी तीन नेताबीच देखिने गरी विवाद थिएन । तर, एक अर्काकोमा नजाने, छलफल नगर्ने जस्ता सन्देश जाँदा झन् कमजोर बनिने देखिएपछि उनीहरू सामूहिक रूपमा लागेका हुन् ।

अर्थपूर्ण भेटघाट
दुई दिनअघि भारत भ्रमणमा जाँदा देउवाले कार्यवाहक सभापति विमलेन्द्र निधिलाई दिएपछि पौडेल पक्ष असन्तुष्ट छ । विधानअनुसार पार्टी उपसभापतिलाई कार्यवाहक सभापति दिनुपर्ने हुन्छ । तर, देउवाले भावी उपसभापतिका रूपमा हेरिएका निधिलाई पार्टीमा छलफल नै नगरी कार्यवाहक बनाएपछि पौडेल पक्षमा कोइरालासहितका नेता असन्तुष्ट बनेका हुन् ।

उपसभापति मनोनीत नभएका वेला निर्वाचित महामन्त्री, कोषाध्यक्ष भए पनि दशौँ वरीयतामा रहेका निधिलाई कार्यवाहक सभापति बनाएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । देउवा भारत भ्रमणमै रहेका वेला कांग्रेसका तीन हस्तीले सामूहिक पत्रकार भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अब कसको नेतृत्व ?
४ साउनमा भएको छलफलमा तीन नेताबीच कसले अब कांग्रेसमा नेतृत्व गरेर जाने भन्ने विषयमा प्रस्टताका साथ छलफल भएको थिएन । तर, तीनजना मिलेको सन्देश दिँदै एक जनाले नेतृत्व गरेर अघि बढ्नेमा उनीहरूबीच सहमति भएको थियो । बिपीपुत्र शशांक महामन्त्री भइसकेका छन् । केशव–नोनापुत्र शेखर केन्द्रीय सदस्य छन् भने गिरिजापुत्री सुजाता पनि केन्द्रीय सदस्य छिन् ।
– रमेश सापकोटा/नयाँ पत्रिका