१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्वदेश फर्केलगत्तै बेखबर

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार ०७:५९

बागलुङ । बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बन्नुभएको छ । बुधबार राति ९:३० बजे त्रिभुवन विमानस्थलबाट बाहिरिनुभएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन ।

गत मंसिरमा रोजगारीका लागि विदेशिनुभएका शर्मा आठ महिनामै घर फर्कनुभएको थियो । शर्माको परिवारले खोजीका लागि प्रहरीलगायत सबैसँग आग्रह गरेको छ । विमानस्थल ओर्लेपछि शर्माले श्रीमती सवितालाई फोन गरी आफू आएको जानकारी गराउनुभएको थियो । बिहीबार बिहान पुनःश्रीमतीलाई फोन गरेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको शर्माका दाजु टीकाराम शर्माले बताउनुभयो ।

शर्मालाई लिन भनी हिँडेका श्रीमती सविता र जेठान गोपाल सडक जामका कारण बेलैमा विमानस्थल पुग्न सकेका थिएनन् । प्रहरीको ‘रिपोर्ट’ अनुसार चितवनको दासढुंगासम्म शर्माको मोबाइलको ‘ट्र्याकिङ’ भएको जनाइएको छ । शुक्रबार दिउँसो र शनिबार पनि नारायणगढमा देखिएको भन्ने अपुष्ट खबर आए पनि अहिलेसम्म नभेटिएको परिवारले जनाएको छ । “प्रहरी र आफन्तसँग खोजीका लागि सहयोग मागेका छौँ, अझै केही पत्तो लागेको छैन”– दाजु टीकारामले भन्नुभयो ।

चितवनमा रहेका शर्माका आफन्तजनले प्रहरीसँग मिलेर खोजी कार्य जारी राखेका छन् । गहुँगोरो वर्ण, साढे पाँच फिट उचाइ भएका शर्मालाई देखे÷भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८५५०५४४९० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । शर्मा अस्वस्थ भएपछि नेपालमै आई उपचार गर्ने भन्दै विदेश गएको छोटो समयमै घर फर्केको जनाइएको छ । घरमा उहाँका वृद्ध बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।