७ बैशाख २०८१, शुक्रबार
Follow Us

हुबहु र कपीपेस्ट पत्रकारिता मौलाउँदै

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार १४:३२

काठमाडौं । निर्देशित, नियन्त्रित र पक्षगत धारणलाई समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रियाकलापको अन्त गर्न माग गरिएको छ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताले सो धारणा राख्नुभएको हो ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता २०७३ र प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा पत्रकारको भूमिकाको सन्दर्भलाई जोडेर सांसद डा शिवजी यादवले पत्रकारले निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

आगामी असोज २ गते प्रदेश नं २ मा पर्ने सर्लाही, सिराह, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन हुन गइरहेको छ । नेपालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ र दोस्रो चरणको निर्वाचन जेठ १४ गते सम्पन्न भइसकेको छ ।

उक्त जिल्लाको कूल मतदाता सङ्ख्या २६ लाख ६४ हजार ७९२ छ । एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानमा निर्वाचन हुन गइरहेको छ । परराष्ट्रविद् एवं प्रेस काउन्सिलका पूर्वसदस्य हिरण्यलाल श्रेष्ठले जनतालाई यथार्थ समाचार पस्केर सुसूचित गर्ने पत्रकार कसैबाट प्रभावित हुन नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नेपालमा हुबहु र कपीपेस्ट पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । त्यसैगरी, प्रेस काउन्सिलका पूर्वअध्यक्ष सोमनाथ घिमिरेले पत्रकारले आफ्नो मर्यादाभित्र रहेर समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिलको तथ्याङ्कअनुसार नियमित प्रकाशन भइरहेको पत्रिका एक हजार एफएम रेडियो ७००, टेलिभिजन १०० र अनलाइन ७५० रहेका छन् ।