१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अभियान बारे के भन्छन नेताहरु

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७३, शुक्रबार ०८:४७

एनअारएनकाे क्षेत्रीय सम्मेलनमा कसले के भने?

डेनमार्ककाे राजधानी काेपनहेगनमा एनअारएन युराेप क्षेत्रकाे बैठक सम्पन्न भएकाे छ । एनअारएनका लगभग सबै केन्द्रीय पदाधिकारी सहभागी बैठकमा सहभागी हुन २२ वटा मुलुकबाट एनअारएन नेताहरू त्यहाँ जम्मा भएका थिए । एनआरएन यूरोप क्षेत्रिय बैठकको नेपालमा लगाानीको सम्भावना बिषयक कार्यशालामा प्रस्तुत तथा सम्मलेनमा सहभागीहरुको बिचारको संपादित अंश ।
upendra-mahato
डा. उपेन्द्र महतो

दस मिलियन जतिको एउटा प्रोजेक्ट फाइन्ड गरिदिनोस् भनेर अनुरोध गरेका छौं । एउटा योजना हामीलाई दिनुहुनेछ । लगानी भनेको कुरा नगरी विश्वास बढ्दैन । र, त्यो पनि नेपालमै लगानी गर्नुपर्छ । नेपालमा भएको लगानीमा आफ्नो गल्तीबाहेक अरु कारणले डुबेको छैन ।
एनआरएन साथीहरु धेरै भावुक भएर आफूले कमाएको पूरै पैसा लिएर नेपाल जान्छु भनेर पनि नभन्नुहोला । यहाँको कमाइको केही भाग लगानी गर्नुहोस् । केही प्रतिशत नेपालमा लगानी गर्नुहोस् । नेपाल जति सुरक्षित विश्वमा कहीँ पनि छैन । हामीले हजार करोडको लगानीमा नेपालमा मेडिकल कलेज सुरुवात गर्दैछौ । साउथ इस्ट एशियाको अहिलेसम्म भएभन्दा सुविधा सम्पन्न अस्पतालको परियोजना बन्दैछ । विदेशमा अरुको गुलामी गरेर, अरुको भूमिमा पसिना बगाएर पैसा पठाउँछौं । तर उपचारका लागि विदेश जान्छौं । त्यसलाई रोक्न सकियो भने देशलाई ठूलो आर्थिक फाइदा पुग्ने छ । निकट भविष्यमा एग्रीकल्चरको क्षेत्रमा एक लाख परिवारलाई रोजगारी दिने हाम्रो योजना छ । महिनामा दुई लाख क्यास दिनु भएन भने किसानको हातमा नगद पैसा परोस् भन्ने यो योजनामा छ । यसमा तपाइँहरुको आइडिया, इनोभेसन आवश्य पर्छ त्यसैले सबै गैरआवासीय नेपालीहरुको सीप नेपालमा लगानी गर्ने अवसरलाई सदुपयोग गर्न सबैमा आग्रह गर्दछु ।

jiba
जीवा लामिछाने, प्रमुख संरक्षक
नेपालमा लगानीको कुरा सुरुदेखि नै उठेको थियो । गैरआवासीय नेपालीहरुको लगानीलाई एनबीआई सरहको सुविधा हुनुपर्छ भनेर हामीले कुरा उठाएका थियौं ।
गैरआवासीय नेपाली ऐन २०६४ ले लगानीसम्बन्धी प्रस्ट रुपमा लेखिएको छ भने वैदेशिक लगानी भनिएको छैन । त्योभन्दा उदार भएर कानुन बनेको छ । कुनै पनि नेपाली र नेपाली आवद्ध भएको कम्पनीले नेपालमा लगानी गर्दा डिभिडेन्ट लैजान सक्छ भनेर कानुनी रुपमा प्रस्ट रुपमा लेखिएको छ ।
त्यो चाहिँ बैंकिङ च्यानलबाट कारोबार भएको हुनुपर्छ । ऐन र त्यसका अनुसूचिहरु वेबसाइटमा राखिएका छन् । संघले लगानी गर्नुप¥यो भन्ने कुरा पनि उठ्यो । संघले आफैँले लगानी गर्दैन त्यो सामाजिक संस्था हो । विश्वभरि छरिएर रहेका नेपालीको स्रोत नेपालमा लगानी गर्ने भन्ने हो । लगानी गर्ने संस्थाले होइन । यो एउटा च्यानल वा फोरम मात्रै हो । लगानीको ५१ प्रतिशत चाहिँ गैरआवासीय नेपालीको लगानी हुनुपर्ने भन्ने व्यवस्था छ ।
नेपालमै हुँदा गरेको लगानी अब के होला भन्ने प्रश्न उठेको छ । एनआरएन ऐन र नयाँ संविधानले आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेकाले यसले भोटिङ अधिकारबाहेक अरु सबै अधिकार पाउने भनेको छ । नेपालबाट एफडिआई नेपालमा आउन पाइने तर आउट बाउन्ड गर्न नपाइने भन्ने जिज्ञासा थियो । व्यापार व्यवसाय गर्नेहरुका लागि विश्व एउटा सानो गाउँ जस्तो भइसकेको छ ।
सरकारले दियो भने सोझै लगानी गर्छन् । नेपालबाट विदेशमा लगानी गर्न त्यति सजिलो छैन । त्यहाँ भइरहेको पुँजीलाई अफिसियल च्यानलबाट बाहिर लैजाने माध्यम छैन । अहिलेसम्म ५० वटा परियोजना पहिचान गरिएका छन् ।
एनआरएनको लगानीलाई सामूहिक लगानी गर्ने कुरा उठाएको थिएँ । १०० मेगावाटको जलविद्युत् योजना बनाउने भन्ने कुरा गरेको थिएँ । अहिले लम्जुङको रुढिखोलामा २७ मेगावाटको परियोजना सुरु गरेका छौं । ५१ प्रतिशत लगानीको, ४९ ग्लोबल आईएमई समूहको लगानी छ । यो केही महिनाभित्रै आइपिओमा जाँदैछ । सानो सानो पूँजी भएको साथीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ कि भनेर समूहिक लगानीको अवधारण ल्याएको थियो । त्यो एक प्रकारको टेष्ट पनि थियो ।
images
चन्द्र ढकाल
नेपालमा हाइड्रोपावर, पर्यटन, कृषि, मेडिकल टुरिज्म, क्षेत्रमा लगानीका प्रसस्त अवसरहरु छन् । पहिले भन्दा अहिले लगानीको वतावारण तयार हुदैछ । अब बन्ने सरकार स्थायी प्रकृतिको हुनेछ । सरकारद्वारा निजी क्षेत्रको लगानीको मूल्यांकन दिइरहेको अवस्था छ ।
नेपालको अर्थतन्त्र चीन र भारतको बीचमा रहेको हुनाले ठूलो स्कोप रहेको छ । खुला बजार अर्थतन्त्रको नीति रहेकाले लगानी गर्न सक्ने वातारण छ । लगानी बोर्डमाफ्त एकद्वार प्रणाली गर्न लगानी बोर्ड छ । मौद्रिक नीति व्यापारमैत्री छ । संस्कृति विविधताबाट ठूलो फाइदा लिन सकिने अवस्था छ । योग्य जनशक्तिको उपलब्धता बढ्दै गएको छ । नेपालको युवा जनशक्तिलाई सही रुपमा उपयोग गर्न सकेको खण्डमा धेरै फाइदा दिन सक्ने स्थिति छ । जिम्मेवारी र दीर्घकालीन लगानीका लागि उपयुक्त वातावरण नेपालमा छ ।
एफएनसीसीआईले प्रजेक्ट बैंकको रुपमा ५० वटा प्रोजेक्ट औंल्याएको छ । यी प्रोजेक्टहरुमा इच्छुक रहेका साथीहरुबाट लगानी हुन सक्ने अवस्था छ । २७ मेगावाटको परियोजना जुन एनआरएनसँग मिलेर अघि बढाइरहेका छौं । संयुक्त रुपमा अघि जान सक्ने अवस्था छ ।
पर्यटन प्रवद्र्धनका लागि पनि पूर्वाधारमा लगानी गर्नुपर्ने अवस्था छ । स्तरअनुसारका होटलमा लगानी गर्न आवश्यक देखिएको छ । हवाई यातायात, साहसिक खेलकूद, सुदूर पश्चिमका पर्यटन परियोजनाको पहिचान एवं कृषिलाई एउटा आधुनिक तवरले अघि लैजान लगानी गर्न सकिने अवस्था छ । नेपालमा उत्कृष्ट डाक्टर छन् । तुलनात्मक रुपमा नेपलामा सस्तो श्रमबजार छ ।

kumar
कुमार पन्त, उपाध्यक्ष
क्षेत्रीय बैठकहरुमा मुख्यत क्षेत्रीय मुद्दामा छलफल हुने हो। यो पटकको युरोप क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीको क्षमता अभिवृद्धिको कुरा उठेको छ। कसरी यो कुरालाई व्यवहारमा लैजाने भनेर हामी छलफल गरिरहेका छौं। यो बैठक नेपाली नेपालीबीच चिनजान र सौहार्दता बढाउने अवसर पनि हो। बैठकमा मुख्य तीन विषय उठेका छन्ः भूकम्पपछिको पुनःनिर्माण, नेपालमा लगानी अभिवृद्धि र पर्यटन प्रवद्र्धन। नेपालमा यी विषय नै अहिले सबैभन्दा महत्वपूर्ण पनि हुन्। त्यसैले हामी यहाँ यही विषय केन्द्रित रहेर के गर्न सकिन्छ भनेर गम्भीर छलफलमा छौं।
भूकम्पपछिको पुनःनिर्माणमा १ हजार घर हामीले निर्माण गर्ने भन्ने हो। सरकारले तोकेको मापदण्डमा घरहरु निर्माण गर्दा लागत केही बढ्ने स्थिति देखिएको छ। युरोप क्षेत्रका २७ एनसीसी छन्। उनीहरुले घर निर्माणमा कति योगदान पुर्याउन सक्छन् भनेर हामी छलफलमा छौं।
bhawan
भवन भट्ट, उपाध्यक्ष
पर्यटन प्रवद्र्धन नेपाल भन्ने कमिटीले अतिथिदेवो भवः भन्ने अभियान छ। म पर्यटन प्रवरद्धन कमिटीमा रहेका कारण त्यसकाे समीक्षा गर्छु। तीन मनिंहनाअघि पर्यटन बोर्डसँग एमओयु भएको छ। पर्यटन भनेको नेपाललाई तत्काल आर्थिक रुपान्तरण गर्न सकिने सम्भावना भएको क्षेत्र हो भने यहाँ कुरा उठेको छ। जापानमा वर्षेनी ८० लाखमा रहेको पर्यटन आगमन अहिले प्रवद्र्धनका कारण वृद्धि भएर २ करोड पुगेको छ। कारोबार बढेर १० बिलियन पुगेको छ। झोले पर्यटक, यस्तो पर्यटक भनेर नभनौं आएका पर्यटकलाई राम्रो आतिथ्य दिन सकौं। मन्त्रालयबाट प्रत्येक देशबाट गुडविल एम्बेसडर तय गर्ने र उसले आफू बसेको देशबाट पर्यटन प्रवद्र्धनको सम्पर्क सेतुको काम गर्ने भन्ने कुरा उठेको छ।

नेपालमा २०१७ सालपछि १६ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सघाउन काम गर्ने विषय उठेको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीले तीन साथी घर पठाऊ अभियान चलाउने हो भने पर्यटन भित्र्याउने लक्ष्य सफल हुन सक्छ। पर्यटन बोर्डसँगै कुरा गरेर हामीले होम्ली नेपाली भन्ने नारा तय गरेका छौं।
ekrajgiri
एकराज गिरी, आइसीसी स्पेन
एनआरएनमा ७३ सदस्य छन् ती मध्ये २७ आइसीसी युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। यो हिसाबले युरोप क्षेत्रीय बैठक समग्रमा एनआरएनकै लागि महत्वको छ। यो क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या, नेपालमा गर्न सकिने कामलाई लिएर छलफल भएका छन्। क्षेत्रीय बैठकले गर्ने भनेकै एनआरएन आन्दोलनलाई अघि बढाउने एउटा महत्वपूर्ण एकीकृत पहल गर्ने हो। क्षेत्रीय बैठकले उठाएका कतिपय विषय कार्यान्वयनमा जाँदा नेपालीहरु लाभान्वित भएका धेरै उदाहरण छन्। यो बैठक भनेको युरोपभरि छरिएर रहेका नेपालीलाई भेट गराउने एउटा साझा फोरम पनि हो।
sapila
सपिला राजभण्डारी

युरोप क्षेत्रीय बैठकसँगै महिला सम्मेलन पनि भइरहेको छ। यसको उद्देश्य के हो भने युरोप क्षेत्रका महिलाहरुको सहभागिता बढाउने, यहाँ बसोबास गर्ने महिलाहरुलाई आर्थिक रुपमा सवल पार्ने र नेपालका महिलाहरुलाई सहयोग गर्ने मार्ग खोज्ने रहेका छन्। युरोपमा बसोबास गर्ने महिलाहरु पनि सबै व्यवसायमा संलगन छैनन्। किन उनीहरु घरभित्रै सीमित भइरहेका छन्? उनीहरुलाई कसरी सशक्तिकरण गर्ने भन्ने विषय हामीले उठाइरहेका छौं। यो फोरम उनीहरुका लागि हो। उनीहरु बोल्न सकुन्। यहाँ आएर बोल्ने अरु महिलाबाट प्ररेरणा लिन सकुन् भन्ने हाम्रो धेय हो। युरोप आएका सबै महिलाको अवस्था गजबै छ भन्ने होइन त्यसैले उनीहरुलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषय निकै पेचिले बनेको छ। भाषामा समस्या छ। कानुनमा समस्या होला वा अन्य केही कारण हुनसक्छ तिनलाई हामी केलाउने प्रयत्न गर्दैछौं । योसँगै नेपालका महिलाहरुलाई के गर्न सक्छौं भनेर हामीले उद्देश्य सहित एजेन्डा तयार पार्दैछौं। अहिले हामीले वान युरोको प्रोजेक्ट चलाइरहेका छौं। यो सानो चिजले अरु मान्छेको अनुहारमा मुस्कान ल्याउन सकिन्छ भन्ने हो। मुख्य रुपमा अधिवेशन महिलाहरुको आर्थिक सम्वृद्धिमा केन्द्रित छ।
rajani
रजनी प्रधान
ग्लोबल कन्फरेन्सपछिको यो पहिलो क्षेत्रीय बैठक हो। यसमा युरोप क्षेत्रमा रहेका सबै एनआरएनहरुको जमघट हो। अब के कार्यक्रम ल्याउने? एनआरएनलाई कसरी अघि बढाउने एवं के के काम भएको छ भनेर समीक्षा गर्ने, योजनाबारे छलफल गर्न हामी भेला भएका हौं । चिनजानको मौका पनि भयो। एक जुट भएर हामीले एकै एजेन्डा पारित गरेर हामी अघि बढ्छौं । युरोप क्षेत्रीय बैठकसँगै ७ औं महिला सम्मेलन पनि हो । यो सम्मेलनमा यो दुई वर्षमा काम गरेको प्रतिवेदन पेश हुँदैछ। आगामी एजेन्डा के छ भन्ने विषयमा छलफल गरेर तय गर्दैछौं । नेपालमा भएका महिलाहरुलाई कसरी आत्मनिर्भर बनाउन सहयोग गर्ने र युरोपकै महिलाहरुलाई कसरी आफ्नै खुट्टामा उभिने बनाउने विषयमाथि छलफल गर्दैछौं । खाडी मुलुकमा रहेका महिलाहरुका लागि सुरक्षित घरको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने कुरा उठेको छ।

muchhetra
मुक्षेत्र गुरुङ

युरोप क्षेत्रका मुद्दा र तिनका समाधान खोज्नका लागि यो बैठक महत्वपूर्ण छ। गत साल भूकम्पका कारण हुन नसकेपछि अलिक ग्याप जस्तो भयो। यो बीचमा देखिएका समस्या र मुलुकमा कसरी आर्थिक लगानी लैजाने भन्ने विषय उठेको छ। पुनःनिर्माणको विषय पनि उठेको छ। ग्लोबल तहमा मुद्दा पुग्नुभन्दा अगाडि युरोपभित्रै एकले अर्कोलाई गर्न सक्ने के छ भन्ने कुरा उठाउने यो फोरम हो। यहाँ पोर्चुगलको समस्या उठेको छ। अब निर्णयमा जाँदा पोर्चुगलको कुरा समेटिएला। मानवीय काम कसरी गर्ने, कसरी लगानी नेपाल लैजाने भन्ने विषयमा छलफल भइरहेको छ। परोपकारी कामका लागि कानुनी रुपमा एउटा अलग निकाय बनाउने कुरा उठेको छ। वान एनसीसी वान प्रोजेक्टको परोपकारी कामको कुरा पनि उठेको छ। युरोपेली देशहरुमा अलग अलग च्यारिटी रजिष्टर गर्ने, त्यसले कानुनी च्यानलबाट पैसा उठाउने कुरा उठेको छ। यसलाई निश्चित मापदण्ड तय गरेर अघि बढाउने कुराहरु आएका छन्।

jangama
जंगम खड्का, स्वीजरल्याण्ड
यो बैठक युरोप क्षेत्रका आइसीसी, एनसीसी जमघट गर्ने नियमित कार्यक्रम हो । तर अध्यक्ष सहित सबै पदाधिकारी सहभागी हुने हुनाले क्षेत्रीय बैठक भए पनि यसको महत्व बढी नै छ। यो बैठकमा स्पेन र पोर्चुगलमा नेपाली दूतावास खोल्न आग्रह गर्ने काम भएको छ। भूकम्पपछिको पुनःनिर्माण काममा गैरआवासीय नेपालीले घर बनाइदिने भन्ने विषयमा युरोप क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुको योगदान के रहने भन्ने विषय पनि आएको छ। सामुहिक लगानीका कुराहरु उठेका छन्। यो बैठकमा युरोपमा बस्ने नेपालीहरुका आफ्नै समस्याका बारेमा पनि छलफल हुनेछ।
ghanshyam

घनश्याम गौतम, डेनमार्क

एनआरएनका क्षेत्रीय समस्या केलाउने र समाधान खोज्न यो बैठक हुने हो। अहिले भइरहेको बैठकका पनि निश्चित त्यस्ता एजेन्डाहरु छन्। समस्या उठाउने, समाधान खोज्ने र नेपालीबीच सौहार्दता फैलाउन यो राम्रो फोरम हो। भूकम्पपछिको पुनःनिर्माणका क्रममा एनआरएनले १ हजार घर बनाउने भन्ने कुरा भएको थियो। त्यो ढिलो भइरहेको विषय यहाँ उठेको छ। किन ढिलो भयो? कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। सबैको माग त्यो काम छिटो हुनुपर्छ भन्ने छ। यहाँ उठेका विषय अमेरिका सम्मेलनमा पेश हुनेछन् र त्यहाँबाट पारित भएपछि ती मुद्दा सबै एनआरएनका हुनेछन्। त्यही भएर पनि अहिले भइरहेको युरोप क्षेत्रको बैठकले ठूलो महत्व राख्छ। एनआरएनमा आएर कोही एक्लो हिरो हुनेभन्दा पनि सबैलाई फाइदा हुने काम होस् भन्ने विषय बैठकमा उठेको छ। एनआरएनले एउटा ठोस योजना अघि सारेर ५—१० वर्षसम्म त्यही योजनालाई कार्यान्वयन गर्न सके त्यो बढी प्रभावकारी हुने थियो।