८ बैशाख २०८१, शनिबार
Follow Us

प्रियाको उपचारमा पाँच लाख ८५ हजार सहयोग

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार ०३:५९

पोखरा । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ ।
आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रियालाई छ महिनाअघि अचानक खुट्टा दुखेपछि पहिलो पटक पोखराको फेवासिटी अस्पतालमा उपचारका लागि लगेको आमा कन्यामाया गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सो अस्पतालमा उपचार हुन नसकेपछि गण्डकी मेडिकल कलेजमा पठाइएपछि छोरीलाई नसासम्बन्धी क्यान्सर भएको पत्ता लागेपछि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको हो ।

अस्पतालका अनुसार उपचारमा लगभग २० लाख भारतीय रुपैयाँ (३२ लाख नेपाली) खर्च लाग्ने बताउँदै उहाँले भन्नुभयो, “धेरैको आर्थिक सहयोगले छोरी प्रियाको उपचार भइरहेको छ ।” पारिवारिक अवस्था कमजोर भएका कारण युवा अवस्थामा नै उपचारको अभावमा ज्यान जान नदिन सामाजिक सञ्जालबाट शुरु गरेको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सक्रिय सहयोग रहेको आर्थिक संकलन अभियन्ता बबिता गुरुङ बताउनुहुन्छ ।