१५ चैत्र २०८०, बिहीबार
Follow Us

अन्तर्राष्ट्रिय स्कुल अवार्ड गैँडाकोट इङ्ग्लिस स्कुललाई

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार ०४:०२

नवलपरासी । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो ।

परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाडाँै सानेपामा गरेको कार्यक्रममा विद्यालयलाई अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्रदान गर्दै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिजले नेपालका शैक्षिक संस्थाको शिक्षण सिकाइमा परिवर्तन ल्याउँदै अन्र्तराष्ट्रियस्तरको विद्यार्थी तयार पार्नुपर्ने बताउनुभयो ।

त्यसका लागि नेपालका विद्यालय र नेपाल सरकारसँग बेलायत सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । अवार्ड घोषणा कार्यक्रममा सबै २६ विद्यालयले आआफ्नो विद्यालयबाट प्रस्तुति दिएका थिए । सो प्रस्तुतिमा पनि गैँडाकोट इङ्ग्लिस स्कुल उत्कृष्ट भएको छ ।

विद्यालयका विद्यार्थीले अवार्ड वितरण कार्यक्रममा विश्वव्यापी समस्याबारे लघु नाटक प्रदर्शन गरेका थिए । विद्यालयका प्राचार्य हीराराल अर्यालले गैँडाकोट इङ्ग्लिस स्कुलले शिक्षा प्रणालीमा सुधारको आवश्यकता देखेर नै ब्रिटिस काउन्सिलसँग सहकार्य गरेको बताउनुभयो ।