१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार ०४:४५

चितवन । बाढीले बगाएर भारत पु-याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली आज बिहानै भारत प्रस्थान गरेको छ ।

भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमाभन्दा पाँच÷छ किलोमिटर पर बयस्क गैँडा देखिएको जानकारी दिएपछि आज बिहानै प्राविधिकसहितको टोली भारत हिँडेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञसहितको टोली भारत गएको हो ।

यसअघि भदौ १ देखि गैँडाको उद्धारमा खटिएको उक्त टोलीले १० दिनको अन्तरालमा दुई भालेसहित छवटा गैँडाको उद्धार गरेको थियो । तीमध्ये पाँच गैँडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको छ ।

थप गैँडा फेला नपरेपछि आइतबार चितवन फर्किएको टोली आज फेरि गैँडा देखिएको जानकारी आएपछि उद्धारका लागि बिहानै भारत गएको हो ।

निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा कमल गैरे तथा निकुञ्जका अधिकारीहरु उद्धारमा खटिएका छन् ।

साउन २८ गते आएको बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा छवटा रतुवा मृग र चित्तल मरेको पाइएको निकुञ्जले जनाएको छ । बाढीका कारण निकुञ्जमा झण्डै रु दुई करोडको भौतिक सम्पत्ति क्षति भएको छ ।