७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको भविष्यसँग जोडिएका तीन कोइराला

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार ०५:३१

काठमाडौं । सुशील कोइरालाको देहान्तपछि कांग्रेसी नेता सशांक, शेखर र सुजाता अलग धारमा थिए । यसको लाभ शेरबहादुर देउवाले उठाए र उनी सभापतिमा चुनिन सफल भए । कोइराला परिवारबाट कोही पनि उमेदवारी दिनसक्ने हैसियतमा नभएकाले पनि देउवालाई सभापतिमा रामचन्द्र पौडेलले चुनौति दिए ।
प्रभावशाली नेतालाई पार्टी पदाधिकारीको प्रलोभन देखाएर देउवाले कांगे्रस पार्टीको सभापति जित्न सफल भएका हुन् । यो सफलतासँग देउवा कांग्रेसको सभापतिमात्र बनेन, पाँचौ पटक मुलुक प्रधानमन्त्रीसमेत बने । देउवालाई विश्वास गरेर सघाउने धेरै सहयोगी चित्त दुखाएर बसेका छन् ।
स्थानीय चुनावका बेलादेखि खुमबहादुरलाई पार्टीको व्यवस्थापनमा जिम्मा दिएर मनाउने प्रयत्न त गरे तर उनले अहिले पनि उपसभापति पाएका छैनन् । पार्टी पदाधिकारीका आकांक्षी दर्जनौं छन् । केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई पार्टी उपसभापति बनाउँदा के हुन्छ भन्ने परीक्षण गर्न प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जाँदा निधिलाई कार्यवाहक दिएका थिए ।
वीपीवाद एक हुनुपर्छ र कांग्रेसलाई अतिवादीबाट अलग राख्नुपर्छ भन्नेहरुको मत यतिबेला एक बन्दै गएको छ । यति नै बेला कांग्रेसी राजनीतिमा रहेका तीन कोइराला सशांक, शेखर र सुजाता एकापसमा मिलेका छन् । कांग्रेसमा फेरि कोइरालाको नेतृत्व स्थापित गराउने प्रयत्नमा जुटेका छन् । उनीहरु सफल होलान् नहोलान् आफ्नो ठाउँमा छ, यो खबरले देउवा आत्तिन पुगेको छ । यदि आफ्ना सहयोगीहरुलाई सन्तुलन मिलाइएन भने समस्या आउने बुझेर देउवाले पार्टी पदाधिकारी नियुक्त गर्न सकेका छैनन् ।
पार्टी र सरकार दुबै सक्षमतापूर्वक चलाउन देउवाले नसकेको आरोप लागिरहेको छ । देउवाको भारत भ्रमणले कांग्रेसको इज्जतलाई धक्का दिएको चर्चा पार्टीभित्रै उठ्यो । विश्लेषकहरु भन्छन्– आगामी अधिवेशनसम्म यो ध्रुवीकरण अरु बढ्नेछ र नेपाली कांग्रेसको नेतृत्व एकपल्ट फेरि कोइराला परिवारमै फर्कने निश्चित छ । यदि कोइरालाहरु नेतृत्वमा फर्कने निश्चित भए नेपाली राजनीतिमा देउवाले नयाँ मोड दिने छन् । यस्तो अवस्थामा देउवाले पत्नी आरजुलाई अघि सार्न सक्ने बताइएको छ । कोइराला सभापति बने आरजुलाई महामन्त्री अथवा कोषाध्यक्षमध्ये एउटा पद दिलाउन देउवा सफल हुनेछन् ।
यस्तो विश्लेषण भए पनि नेतृत्व गर्न योग्य कोइराला को त ? शेखर, सुजाता कि सशांक ? शेखर प्रभावशाली हुन् तर उनले देउवालाई टक्कर दिइहाल्छन् भनेर विश्वस्त हुन नसक्नेहरु सुजाताको सभापति हुने हाइट नपुग्ने बताइरहेका छन् । महामन्त्री छन् सशांक कोइराला । उनी वीपीपुत्र पनि हुन् र उनको झुकाव प्रजातन्त्र, हिन्दुवाद र समाजवादतिर बढी छ । निर्वाचित महामन्त्री भएर सशांकले पार्टीभित्रका प्रभावशाली र अन्य सदस्यहरुको मन जित्ने काम पनि गरिरहेका छन् । उनी अरु नेताभन्दा भिन्न पनि छन् र विवादमा आउन रुचाउँदैनन् । यसकारण सशांक आगामी सभापति बनेर कांग्रेसलाई कोइराला परिवारकै नेतृत्वमा पु¥याउने सम्भाबना देख्नेहरुको संख्या दिनदिनै बढिरहेका छन् ।
सुजाताले सशांककै नाम लिएकी छिन् र शेखरले पनि विरोध जनाएका छैनन् । यी तिनैजना तीनपल्ट सँगै बसेर छलफलमा जुटेका पनि छन् । यो क्रमले निरन्तरता पायो भने कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा फर्कने लगभग निश्चित जस्तै छ ।