७ बैशाख २०८१, शुक्रबार
Follow Us

दक्षिण अफ्रिकामा नेपाली यौन बजार

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार ०५:३४

शिवप्रसाद सिग्देल (वरिष्ठ अधिवक्ता)

पहिले बम्बै, अहिले खाडी र दक्षिण अफ्रिकामा नेपाली यौन बजार खुलेका समाचारहरु आइरहेका छन् । नेपाली चेलीबेटीलाई बेच्ने गिरोहले गर्नु नगर्नु कूकर्म गरिहेका छन् । यसैगरी मानव बेचबिखन गर्ने र राम्रो रोजगारीका नाममा, धेरै पैसा कमाएर सुखशान्तिको जीवन बाँच्न पाइन्छ भनेर युवतीहरुलाई बैध अबैध मार्गबाट लैजान दिइरहने र तिनको सोधखोज नगर्ने हो भने राज्य अन्धो र कानुनको प्रभावकारिता कम हुँदै जानेछ । लोकतन्त्र भनेको मनलागि तन्त्र बन्न पुग्नेछ । हेक्का राखौं ।
जनयुद्धका कारण उत्पन्न अशान्ति, अराजकता, असुरक्षा, अस्थिरता, बेरोजगारी र गरिवीले नेपाली युवायुवतीले केमात्र भोग्नु परेन ? नेपालीहरु विश्वका अधिकांश मुलुकमा छटपटाउँदै अनेकन मोलमोलाई कबुल्दै पुगिरहेका छन् तर तिनले कहीं पनि शान्ति र सुविस्ता पाएका छैनन् । होला, एकाधले सपना पूरा गरेका पनि होलान् तर अधिकांशले दुस्ख र शोषण नै भोगेका छन् । नेपाली जुनसुकै देशमा पुगुन् तिनले अहिले पनि अव्यक्त पीडा भोगिरहेका छन् । तिनको पीडाको दबाई दीगो शान्ति हो, त्यो अझै परको विषय छ । हो, भौंतारिएर, रोजगारीको खोजीमा र सुखद भविष्य खोज्दै विभिन्न मुलुक पुगेका केही प्रतिशतले राम्रो काम र सफलता हासिल गरेका पनि छन्, ती नगण्य छन् र युवा युवती दास, सेक्स दासका रुपमा जीवन बिताउन बाध्य छन् । विदेश पुगेकाहरुले स्वदेश र स्वजन सम्झेर आँसु बगाउनु तिनको दैनिक नियति बनेको छ ।
मानव तस्करले देखाएको नयाँ करामत भनेको नेपाली युवतीलाई दक्षिण अफ्रिका र्पुयाएर यौनकर्मी बनाउनसमेत भ्याएछन् । नेपाली दूतावासले परराष्ट्रलाई पठाएको खबरअनुसार भारतीय, पाकिस्तानी, नेपाली र अफ्रिकी दलाल मिलेर चारसय भन्दा बढी नेपाली युवती दक्षिण अफ्रिका र्पुयाएर तिनलाई यौन धन्दामा लगाएका छन् । दूतावासका एक कर्मचारी केही समय नेपाल आउँदा उनले बताए– नेल्शन मण्डेलाको देश हो दक्षिण अफ्रिका, यो पर्यटक क्षेत्र हो, मजाले कमाउन सकिन्छ भन्दै प्रतिव्यक्ति ८ लाखसम्म असुलेर नेपाली युवा युवतीलाई दक्षिण अफ्रिका र्पुयाएका रहेछन् । त्यहाँ पुगेका महिला केही घरेलु कामदार र केही डान्सबारमा नाचिरहेका छन् । तिनको श्रम, यौन शोषण भइरहेको छ । हामीले चाहेर पनि तिनको कल्याण गर्न सक्ने स्थिति छैन ।
कसरी युवती त्यहाँ र्पुयाइए भन्ने प्रश्नमा उनले भने पहिले नेपालीलाई केन्या र तान्जानियाँ र्पुयाइन्छ, त्यहाँबाट दक्षिण अफ्रिका प्रवेश गर्न अनुमति चाहिंदैन । त्यही सुविधाको लाभ दलालहरुले उठाइरहेका छन् ।
दलालहरुको पहुँच स्वदेशमा नीतिनिर्माता, सुरक्षा अधिकारीसम्म छ भने विदेशमा त्यहाँका दलालमार्फत राम्रै पहुँचमा देखिन्छन् । तिनीहरुलाई केही समस्या र्पयो भने राजनीतिक नेताहरुले संरक्षण दिने भएकाले पनि तिनीहरुको हौसला यस्ता मानव बेचबिखनमा बढ्दै गएको छ । खुला समाजमा बिधि स्थापना नभएपछि अमानवीयता बढ्छ भनेको यही हो । यसको सिधा असर नेपाली समाज, नेपाली परिवारमा परिरहेको छ । अव सचेत हुनेबेला भयो । अव पनि सचेत नहुने र देशलाई यस्ता मानवबिरोधीहरुबाट नबचाउने हो भने नेपाली पहिचान मेटिने र राष्ट्रिय अपमान अन्तर्रा्ष्ट्रिय जगतमा बढ्दै जानेछ ।