१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमालेको भेलामा ढुङ्गामुढा

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार १५:३१

काठमाडौं । नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको छ ।

जनसंगठनको प्रदेश नं २ स्तरीय भेला चलिरहेका बेला आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी कार्यक्रममा अशान्ति मच्चाइनु निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको भएको सो पार्टीको आरोप छ । एमालेका सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा यथोचित शान्तिसुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो । हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं २ का आम जनसमुदायलाई आह्वान गर्छ । हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारबाही गर्न माग गर्दछ ।’

विज्ञप्तिमा सबैखाले अवरोधलाई चिर्दै उत्साह र एकताका साथ आगामी असोज २ मा हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई आह्वान गरिएको छ ।