८ बैशाख २०८१, शनिबार
Follow Us

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार ०७:३३

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर १० गते पहिलो चरणमा र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले मंसिर १० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न कठिन हुने भन्दै दुई चरण गर्न सुझाव दिएपछि सरकारले सोही अनुसारको निर्णय गरेको हो ।
बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथिमा बढुवा गर्दै भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लैजाने निर्णय सरकारले गरेको छ ।