८ बैशाख २०८१, शनिबार
Follow Us

बालिकाको मृत्युसंगै नर्भिक अस्पतालमा तोडफोड

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १४:५३

काठमाडौँ । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि थापाथलिस्थित नर्भिक अस्पतालमा तोडफोड भएको छ । उपचारमा संलग्न नर्भिक अस्पतालका बाल विशेषज्ञ डाक्टर विनिता जोशी र डा. रितु लामिछानेलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ ।
अस्पताल प्रशासन, स्वास्थ मन्त्रालयका सहसचिव डा. विकास देवकोटा, प्रहरी र मृतकका आफन्त लगाएतको छलफलमा निष्पक्ष छानविन आयोग गठन गर्ने सहमति भएको छ । डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको भन्दै मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गरेका हुन् ।
डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको थियो । अस्पतालले बच्चाको मृत्युमा आफ्नो गल्ती नस्वीकारेपछी परिवार र आफन्तले सडक आन्दोलन गर्ने बताएका थिए ।
सामान्य ज्वरो आएर मंगलबार बिहान भर्ना भएकी बालिका भिक्टोरिया आर्चायलाई दिउँसो अस्पतालले एकाएक मृत घोषणा गरेको मृतकका बाबु डा. रमेश आर्चायले बताए ।
‘डाक्टरको टिमले बच्चाको फोक्सोमा आवश्यकताभन्दा मोटो पाइप घुसारिदिएछन्, धेरै रगत बगिरहेको थियो,’ बुबा रमेशले भने, ‘रगत नरोकिएपछि हामीले कान्ती अस्पताल लान्छौं भन्दा दिएनन्, पछि मृत घोषणा गरे ।’ बच्चा लिन कान्तीबाट एम्बुलेन्स आउँदा पनि डाक्टरको टिमले जबरजस्ती गरेको आर्चायले बताए ।