१३ बैशाख २०८१, बिहीबार
Follow Us

पद्मश्री पुरस्कार नवराजको सगरमाथाको गहिराइलाई

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७४, बिहीबार ०४:४६

काठमाडौं । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं.२०७३ को पद्मश्री पुरस्कार नबराज पराजुलीको कविता संग्रह सागरमाथाको गहिराइलाई प्रदान गर्ने निर्णय गरेको छ । यसअघि प्रतिष्ठानले संकलित पुस्तकमध्ये जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नबराज पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृष्ट पांच कृतिका रुपमा चयन गरेको थियो ।
यिनै पाँच कृतिमध्येबाट मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज सगरमाथाको गहिराइ कबिता संग्रहलाई यस वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले फेसबुक स्टाटसमा लेखेका छन् । पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिनेछ ।
त्यसै गरी वि.सं.२०७३ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा अर्पण गर्ने निर्णय भएको छ । लामो समयदेखि साहित्य सृजना, साहित्यिक पत्रिकाको सम्पादन-प्रकाशन तथा श्रस्टाहरुलाई निरन्तर प्रोत्साहन गरिरहनु भएका कारण शर्मा र घिमिरेलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको हो । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुबचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिस्ट साहित्यकार बैरागी काइँलालाई अर्पण गरिसकिएको छ । सम्मानबापत अभिनन्दनसहित सम्मानपत्र र संयुक्त रुपमा दुई लाख रुपैंया नगद अर्पण गरिने संरक्षक लामिछानेले उल्लेख गरेका छन् ।