८ बैशाख २०८१, शनिबार
Follow Us

भारतका पाँचजना मन्त्रीद्वारा राजिनामा

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार ०७:०३

नयाँ दिल्ली । भारतका पाँचजना मन्त्रीले राजिनामा दिनुभएको समाचार छ । सम्भवत केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान गरिएका बेला उनीहरुको राजिनामा आएको छ ।

राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह हुनुहुन्छ ।

बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गर्नुभएको थियो । त्यस भेटका क्रममा पनि उहाँले वर्तमान मन्त्रिमण्डलको पुनर्गठनको कुरा गर्नुभएको थियो ।

उहाँहरुबीच भएको भनिएको सो भेटवार्तापछि ती पाँचजना मन्त्रीले राजिनामा दिनुभएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीले आगामी शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्नुहुने अनुमान गरिएको छ । उक्त मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई पनि स्थान दिने कार्यक्रमअनुसार नै राजिनामा मागिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सन् २०१९ मा भारतमा संसदीय निर्वाचनको आह्वान गरिएको छ । सोही कारणले उनीहरुलाई पार्टीमा काम दिनेगरी मन्त्रीबाट राजिनामा मागिएको स्रोतको भनाई छ ।

प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने विचार राख्नुभएको छ । यसका लागि पार्टीको संगठन बलियो बनाउनेतिर मोदी लाग्नुहुने अनुमान पनि गरिएको छ ।