८ बैशाख २०८१, शनिबार
Follow Us

आचारसंहिता पालनामा कडा नीति अपनाइनेछ : प्रमुख निर्वाचन आयुक्त

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार १६:०९

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताउनुभएको छ । स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा खटिने सरकारका सचिव एवं सहसचिवका लागि आयोजना गरिएको अभिमुखीकरणमा उहाँले भन्नुभयो, “आचारसंहिता पालनाविरुद्धको विषयमा शुन्य सहनशीलताको नीति अपनाइनेछ ।

उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतका नाममा आचारसंहिता उल्लंघनको घटना भइरहेका छन्, समन्वयको अभावले हुने कमीकमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्छ – डा यादवले भन्नुभयो ।

आयुक्त सुधीरकुमार शाहले आयोग निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन तथा पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारबाटै सबैभन्दा बढी आचारसंहिताको उल्लंघनका घटना भएका छन्, संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगलाई विभागसरहको रुपमा व्यवहार गरिएको छ, आचारसंहिताको पूर्ण पालना गरेर हुने निर्वाचनले मात्र गणतन्त्र र लोकतन्त्रको जग बलियो तुल्याउनेछ ।”

तेस्रो चरणमा हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तह निर्वाचनका लागि आयोगले दुई सचिवसहित १८ जनालाई अनुगमनमा खटाएको हो । उहाँहरु यही भदौ १९ गतेदेखि कार्यस्थलमा खटिनु हुनेछ ।

रणनीति र संयन्त्रको विकास गरिएको छ – आयुक्त शाह
निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधीरकुमार शाहले आचारसंहिता नैतिकता र मर्यादासँग जोडिएको प्रश्न भएकाले मर्यादा नमान्नेलाई कानूनी दायरामा ल्याइने बताउनुभयो ।

विगतमा आचारसंहिता पालना गराउन निर्वाचन आयोगबाट सशक्त र प्रभावकारी भूमिका हुन नसकेको स्वीकार गर्दै उहाँले अघिल्ला निर्वाचनमा पनि उपप्रधानमन्त्री र मन्त्रीलाई समेत आचारसंहितका बारेमा जानकारी माग गरिएको घटनाको स्मरण गराउनुभयो ।
निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा पूर्वप्रधानमन्त्री माधव नेपालबाट लिखितरुपमा प्रस्तुत भएको प्रतिबद्धताप्रति आयोगका तर्फबाट आयुक्त शाहले आभार व्यक्त गर्नुभयो ।

पूर्वप्रमुख आयुक्तसँग परामर्श
यसैगरी प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतपत्रको विषयमा आज परामर्श गर्नुभएको छ ।

सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वयले छोटो समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले मतदातालाई सहज हुने किसिमले मत्रपत्रको डिजाइन गर्न आयोगलाई सुझाव दिनुभयो । भेटघाटमा आयोगका आयुक्त इला शर्मा र नरेन्द्र दाहाल तथा आयोगका सचिव शंकरप्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो ।