१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७४, शनिबार ०५:१६

यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको मोह बढ्यो । उनले स्थलमार्गको यात्रा गरेर भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाई मार्गको यात्रासँगै दुःख गरेर भए पनि खाडी मुलुकमा जाने र केही कमाउने सपना बुने । कसैको काम गरेर सामान्य आम्दानी गर्ने उनीसँग भने विदेश जाने मोटो रकम थिएन ।

यसअघि घरमा उनकी श्रीमती सपनाको मानसिक सन्तुलन गुमेको थियो । उनलाई ठीक ठाउँमा ल्याउन ऋणको जोहो गर्नुप¥यो । झण्डै रु एक लाख २५ हजार खर्च गरेर श्रीमतीलाई निको पारेका उनले ऋणको साँवा र ब्याज चुक्ता गर्न विदेश जानुपर्ने नै थियो ।

खेतबारीको उत्पादनले तीन महिना जीवन निर्वाह गर्न धौधौ हुने उनको परिवारका लागि राहदानी बनाउनदेखि काठमाडौँ भएर विदेश जानु पहाड ढाल्नु जत्तिकै थियो । तथापि निकै हारगुहार गरी दुई महिना लगाएर सयकडा रु चार÷पाँच ब्याज दिनेगरी रु एक लाख ५० हजार ऋण प्राप्त गरी जस्मिन ओभरसिज प्रालि वसुन्धरा काठमाडौँमार्फत गत साउन १७ गते उडान भरेका उनी १८ गते मलेसिया पुगे । दुर्भाग्य ! पुगेको पाँच दिनपछि नै उनको मानसिक सन्तुलन गुम्यो ।

झण्डै एक महिनादेखि मानसिक रोगका बिरामी सुनार तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी हुन् । उनी बेसहारा अवस्थामा रहेको उनीसँगै मलेसिया पुगेका छिमेकी दाइ अमृत सुनारले जानकारी दिए । “एक्कासि दिमागले काम नगरेपछि कम्पनीले उसलाई उपचारका लागि लगेको थियो । त्यसपछि कहाँ के भएको छ भन्ने मलाई थाहा छैन”, उनले भने ।

पहिलो पटक आएको र भाषाको पनि ज्ञान नभएकाले आफूलाई पनि निकै गाह्रो भएको उनको भनाइ छ । सुनारको स्वास्थ्य अवस्थाका विषयमा घरपरिवारका सदस्य अहिले गम्भीर चिन्तामा छन् । सुनारलाई फिर्ता गर्न भनेर काडमाडौँमा पुगेका उनका दाइ तुल्बिर तनावमा भौँतारिरहेका छन् । निरक्षर भएकाले कहाँ के गर्ने भन्ने कुनै कुरा उनलाई थाहा छैन । उनी ऋण काढेर विदेश पठाइएका भाइलाई स्वदेश फिर्ता गर्ने ऋण पाउन गाह्रो भएको दुःख पोख्छन् ।

“भाइलाई म्यानपावरले फिर्ता गरिदिने भनेपछि काठमाडौँ आइयो तर भाइ आउने अत्तोपत्तो छैन”, उनले भने । म्यानपावरका अनुसार दुई पटक ल्याउन भनेर टिकट पठाइएको तर भाइ आउन नमानेको उनको भनाइ छ । भाइ नेपाल आउँछ कि भन्ने आशामा आइतबारसम्म काठमाडौँमा बस्ने उनले बताएका छन् ।

जस्मिन ओभरसिज प्रालिका प्रमुख नवराज भट्टले रासससँग फोनमा कुरा गर्दै मलेसियाको रोयका इलोक्ट्रोनिक्स कम्पनीसँग तीन वर्षको सम्झौतामा मानसिङ र अमृत सुनारलाई पठाइएको जनाए । “पठाएको दिनबाटै मानसिङको सन्तुलन गुम्यो र कम्पनीले १५ दिनजति उपचार गर्दा १० हजार रिंगेट (करिब नेपाली रु तीन लाख) खर्च भएको छ”, उनले भने ।

सुनारका दाइ तुल्बिरले भाइलाई नेपाल फर्काइदिन गरेको आग्रहमा पहिलो पटक रु २५ हजार ८०० र दोस्रो पटक रु २४ हजार टिकट पठाउँदा पनि प्लेन चढाउन नसकिएकाले उनलाई नेपाल ल्याउन नसकिएको सो कम्पनीका प्रमुख भट्टले बताए । उनले अहिलेसम्म सुनारका लागि रु तीन लाख ५० हजार खर्च भइसकेको र अब केही गर्न नसक्ने बताएका छन् ।

पीडित परिवारले भने सुनारलाई नेपाल ल्याइदिन र उनको जीवन बचाइदिन भन्दै सरकारसँग सहयोग याचनाका लागि सञ्चारमाध्यमलाई आवाज बन्दिन अनुरोध गरेको छ ।
शुरबहादुर सिंह/रासस