१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपप्रधानमन्त्री महरा चीन जादै

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७४, शनिबार १५:१४

काठमाडौं । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आगामी बुधवार चार दिने भ्रमणका लागि बेइजिङ जाने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका महराको परराष्ट्रमन्त्री भएपछिको यो पहिलो चीन भ्रमण हो । चिनियाँ विदेशमन्त्रीको निम्तोमा भ्रमणमा आउन लागेका मन्त्री महराले चिनियाँ प्रधानमन्त्री लि कछ्यागंसंग भेंटवार्ता गर्ने कार्यक्रम समेत रहेको स्रोतले जानकारी दियो ।

महराले दुई दिन वेइजिङमा रहँदा आफ्ना समकक्षी वांग यीसंग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिस्ट पार्टीका उच्च तहका नेतासंग भेटवार्ता गर्ने कार्यक्रम छ । महराले सेप्टेम्वर ९ मा गोन्जाऔमा रहेको नेपाली महावाणिज्यदुतावासको औपचारिक उद्धघाटन गर्ने कार्यक्रम समेत छ ।

माओवादी केन्द्रका वरिष्ट नेता समेत रहेका उपप्रधानमन्त्री महराको साताव्यापी चीन भ्रमणको क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका वेला भएका समझदारी र चिनियाँ उपप्रधानमन्त्री वाँग यांगको नेपाल भ्रमणका क्रममा भएका सम्झौतालाई अघि वढाउने विषयमा समेत चिनियाँ अधिकारीसंग छलफल हुनेछ ।

त्यसैगरी महराको चीन भ्रमणका बेला उर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । दुवै देशका अधिकारीले उक्त सम्झौतामा हस्ताक्षर गर्नको लागी सवै तयारी पुरा गरीसकेका छन् । ‘मन्त्री महराको यो सद्भावना भ्रमण मात्र हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणमा द्विपक्षीय वार्ता हुनुको साथै चिनियाँ प्रधानमन्त्रीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम’, परराष्ट्र स्रोतले भन्यो ।

परराष्ट्रस्रोतले दिएको जानकारीअनुसार महराको भ्रमण टोलीमा परराष्ट्रको चीन महाशाखा हेर्ने सहसचिव गणेश ढकाल, उपसचिव कुमार राई र महराका प्रेस संयोजक हरि लामिछाने रहेका छन् । महराको सेप्टेम्वर १० मा स्वदेश फर्कने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री हुदा चीनसंग वान वेल्ट वान रोडमा सम्झौतामा हस्ताक्षर भएको थियो ।