१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘शेष घलेको अजेन्डामा कृष्ण तिमल्सिनाको समर्थन’

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार ०१:३१

लण्डन । गैर आवासीय नेपाली संघ यूकेकाे अध्यक्षका लागि प्रत्यासी कृष्ण तिमल्सिनाले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र जारी गरेका छन् । तिमल्सिनाद्धारा शनिवारजारी सो पत्रमा गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेको ‘भिजन २०२० एण्ड वियोण्ड’ लाई आत्मसाथ गर्ने प्रतिबद्धता जनाएका छन् । उनले ‘गैर आवासीय नेपाली संघमा अहिले छलफलको क्रममा रहेको भिजन २०२० एण्ड वियोण्डको मर्मलाई आत्मसाथ गर्दै विश्व सम्मेलनमा सशक्त रुपमा गैर आवासीय नेपाली संघ यूकेलाई प्रस्तुत गरिने बताएका छन् । आगामी शनिवार हुने निर्वाचनलाई मध्यनजर गर्दै तिमल्सिनाले वंशजकै आधारमा पूर्ण अधिकारसहितको नेपाली नागरिकता, लाप्राक परियोजना र काठमाण्डौंमा बन्दै गरेको एनआरएन भवन, गैर आवासीय नेपाली संघ बेलायतले शुरु गरेको नेपाल हाउस, गोर्खा संगठनको माग, नयाँ पुस्तालाई परिचालन, आपतकालिन तथा परोपकारी कोष लगायतका मुख्य मुद्धालाई चुनावी अजेण्डा बनाएका छन् ।

प्रतिबद्धतापत्रको पूर्णपाठ

गैर आवासीय नेपाली संघ यूके निर्वाचन २०१७
९ सेप्टेम्वर २०१७

कृष्ण तिमल्सेना अध्यक्ष (प्रत्यासी
प्रतिवद्धतापत्र

१. गैर आवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रावधान नेपालको नयाँ संविधानमा व्यवस्था अपूर्ण रहेकोले एक पटकको नेपाली सधैंको नेपाली भन्ने नाराको मूल मर्मअनुरुप कुनै संकुचनबिना वंशजकै आधारमा पूर्ण अधिकारसहितको नेपाली नागरिकताका लागि पहल गरिने छ ।

२. विनाशकारी भूकम्पपश्चातको पुनर्निर्माणको गैरआवासीय नेपाली संघले शुरु गरेको लाप्राक परियोजना र काठमाण्डौंमा बन्दै गरेको एनआरएन भवन पूर्ण रुपमा सम्पन्न नभए सम्म हर तरहले खेल्नुपर्ने सहयोगी भूमिका निभाउने ।

३. बेलायतमा सम्पूर्ण नेपालीहरुको साझा पहिचानको रुपमा स्थापित हुने गरी गैर आवासीय नेपाली संघ बेलायतले शुरु गरेको नेपाल हाउस निर्माण अभियानमा बेलायतका नेपाली संघ संस्थाहरुको पूर्ण सहयोग र सहकार्यलाई पूर्णता दिइने छ ।

४. गैर आवासीय नेपाली संघ बेलायतको संशोधित विधानको मर्मअनुरुप क्षेत्रीय अवधारणाको मोडालिटीमा टेक्दै संयुक्त अधिराज्य बेलायतमा नेपालीहरु रहेका स्थानहरुमा शाखा विस्तार गरिने छ ।

५. बेलायत लगायत विदेशमा रहेका गैरआवासीय नेपालीहरु बिदा मनाउन तथा व्यावसायिक प्रयोजनका लागि नेपाल जाने क्रममा नेपालमा रहेको अध्यागमन तथा भन्सार विभागमा देखा परेका कठिनाइहरुलाई सरल पार्न नेपाल सरकारसंग सहकार्य गरिने छ ।

६. वीर गोर्खालीको पहिचान कमाएका नेपालीहरुप्रति बेलायत सरकारको विभेदकारी नीतिप्रति आवाज उठाउँदै विभिन्न गोर्खा संगठन, नेपाल सरकार र बेलायत सरकारबीच भइरहेको वार्ता प्रकृयालाई पूर्णरुपमा सहयोग गरिने छ ।

७. गैरआवासीय नेपालीहरुप्रति नेपालमा लगानी मैत्री वातावरणको सृजनामा जोड दिँदै बेलायतमा रहेका नेपालीहरुलाई सामूहिक तथा एकल लगानीको लागि ठोस कार्ययोजना ल्याउने नीति अवलम्बन गरिने छ ।

८. गैर आवासीय नेपालीले विदेशमा आर्जन गरेको ज्ञान सिप र दक्षता नेपालको विकासमा समाहित गर्नको लागी नयाँ पुस्तालाई परिचालन गरिने छ ।

९. गैर आवासीय नेपाली संघले यसअघि स्थापना गरेको आपतकालिन तथा परोपकारी कोषलाई पुनः संचालनमा ल्याइने छ ।

१०. गैर आवासीय नेपाली संघमा अहिले छलफलको क्रममा रहेको भिजन २०२० एण्ड वियोण्डको मर्मलाई आत्मसाथ गर्दै विश्व सम्मेलनमा सशक्त रुपमा गैर आवासीय नेपाली संघ यूकेलाई प्रस्तुत गरिने छ ।

११. गैर आवासीय नेपाली संघ बेलायत ग्रासरुट लेभलसम्म नपुगेको जनगुनासो बढिरहंदा यो संस्थाप्रति सबैको अपनत्व महशुस गराउन पहल गरिनेछ ।

१२. एक ब्यक्ति एक पर्यटक नाराको साथ अबैतनिक पर्यटन प्रतिनिधीहरूसंगको सहकार्यमा बेलायतबाट अधिकतम पर्यटन नेपाल भित्र्याउन ठोस योजना ल्याईने छ ।

१३. युवाहरूको सीप, क्षमता तथा दक्षताको समुचित पहिचान गरी युवा परिचालन मार्फत यहाँ र मातृभूमीमा समेत केहि नमूना परियोजनाहरू संचालन गरिने छ ।

१४. नेपाली दुताबासमा एनआरएन हेल्पडेक्स राख्न पहल गरिने छ ।

१५. बेलायती सरकारको तेश्रो मुलुकबाट आउने अप्रवासी वर्क परमिट बिध्यार्थी वा अन्य रूट प्रतिको अनुदार नीतिको कारण ग़ैर आवासीय नेपालीहरूले संचालन गरिरहेका ब्यबसायमा परेको अप्ठ्यारालाई न्यूनिकरण गर्न सरोकारवालाहरूसंग नेपाली दुताबास समेतको सहयोगमा सरलिकरणको प्रयास गरिनेछ ।