१५ चैत्र २०८०, बिहीबार
Follow Us

उत्तर कोरियाद्वारा हाइट्रोजन बम परीक्षण, ६.३ रेक्टरको भूकम्प

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार ०७:०८

उत्तर कोरियाले अत्याधुनिक क्षमताको नयाँ परमाणु हतियारको परीक्षण गरेको छ । हाइट्रोजन बम परीक्षणका कारण ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसुस गरिएको अमेरिकी भूगर्भ विज्ञले जनाएका छन् । जसको गहिराई दस किलोमीटर रहेको जनाइएको छ ।

झड्का लगत्तै दक्षिण कोरियाले राष्ट्रीय सुरक्षा परिषदको बैठक बोलाएको छ । दक्षिण कोरियाली अधिकारिका अनुसार यो झड्काको केन्द्रबिन्दु उत्तर कोरियाको परमाणु परीक्षण स्थल नजिकै रहेको छ । यस्तै भूकम्पमाथि नजर राख्ने चीनिया सस्थांनले पनि यो झड्का परमाणु परीक्षणको हुन् सक्ने जनाएको छ ।

केहीबेर अगाडी मात्र उत्तर कोरीयाली सरकारी समाचार एजेन्सीले नेता किम जोङ उनले हाइट्रोजन बमको निरिक्षण गरिरहेको तस्विरहरु सार्वजनिक गरेको थियो । नेता किम जोङ उनले परमाणु हतियार संस्थानका वैज्ञानिकलाई सो हतियार परीक्षणका लागि निर्देशन दिएको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको थियो ।

उत्तर कोरियाले अत्याधुनिक क्षमताको नयाँ परमाणु हतियारको विकास गरिएको जनाएको थियो । ब्यालेस्टिक मिशाइलमा लोड गर्न मिल्ने दावी गरिएको सो हाइट्रोजन बम अहिलेसम्मको विकसित र अधिक क्षमता भएको बताइएको छ ।

अघिल्लो साता मात्र उत्तर कोरियाले मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापान तर्फको सीमामा प्रहार गरेको थियो जसका कारण त्यहाँका स्थानिय अधिकारीहरुले स्थानीय वासिन्दालाई सुरक्षित रहन सुझाएका थिए । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अमेरिकाको धम्किबीच उत्तर कोरियाले पटकपटक परमाणु हतियारको परिक्षण र प्रक्षेपण गर्दै आएको छ ।