१५ चैत्र २०८०, बिहीबार
Follow Us

पिटरबरोमा एनआरएनए यूके उम्मेदवारबीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार १२:४८

लन्डन । आसन्न एनआरएनए यूके निर्वाचनका उम्मेदवारहरुबीच क्याम्ब्रीजसायरको पिटरबरोमा अन्तरक्रिया भएको छ । आइतबार भएको कार्यक्रममा लन्डन र पिटरबरोवासी उम्मेदवार एवं नेपाली अगुवाहरुसंग अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सचिव पदका उम्मेदवार नारायण गाउंलेले आफू विज्ञ वा सक्षम भन्दा पनि अघिल्लो कार्यसमितिमा आवद्ध अग्रजहरुले गर्न नचाहेको एजेन्डा संघमा लागू गर्न उम्मेदवारी दिएको बताए । उनले भाषा, साहित्यमा काम गरेको अनुभव सुनाउंदै यी विद्या एनआरएनए भित्र समेटिनुपर्छ भन्ने भावना अहिलेसम्म नदेखिएकाले आफ्नो उम्मेदवारी आएको प्रष्ट्याए । बाहिर बस्ने नेपालीलाई मातृभूमिसंग जोड्ने माध्यम भाषा भएकाले नयां नेतृत्वमा पुगे वहुभाषिक गोष्ठी, सेमिनार आदि रचनात्मक काम गर्ने उनको प्राथमिकता छ ।

कोषाध्यक्षका उम्मेदवार महेश गिरीले आर्थिक पारदर्शीता आफ्नो मुख्य मुद्दा भएको बताए । संघमा सबैभन्दा पहिला आउनुपर्ने पारदर्शीता एजेन्डा कहिल्यै नआएकाले त्यो कार्यान्वयन गराउने अठोट उनको छ ।

वर्तमान सचिव एवं सहमहासचिवका उम्मेदवार कृष्ण तिवारीले वर्तमान कार्यसमितिले धेरै उपलव्धिमुलक काम नगरेपनि विवादरहित भने रहेको बताए । आकाशको तारा झार्ने एजेन्डा नभएपनि पद अनुसारको जिम्मेवारीमा न्याय गर्ने उनले बताए । आफ्नो एकेडेमिक पृष्ठभूमि भएकाले नयां अध्यक्षको कार्ययोजनामा सक्रिय सहभागिता रहने उनको प्रतिवद्धता छ । एनआरएनएका कार्यक्रम नेपाली परम्परा अनुसार लामो भाषण, एकै खालका व्यक्ति अतिथी रहंदै आएकामा त्यसको अन्त्य गर्ने पनि तिवारीको दावी छ ।

एनआरएनए यूके आइसीसी सदस्यका उम्मेदवार देवराज आचार्य (चिरन शर्मा) ले एनआरएनए अभियानमा सन् २००५ देखि सक्रिय रहेपनि नेतृत्वमा नपुग्दा कतिपय अवस्थामा गर्न चाहेको काम गर्न नपाएपछि उम्मेदवारी दिएको बताए । दोहोरो नागरिकता विषयमा संस्थागत लवी नपुगेको धारणा राख्दै उनले आफू आइसीसी केन्द्रिय समितिमा पुगे छलफल चलाउने उल्लेख गरे ।

पिटरबरो नेपाली समाजका अध्यक्ष एवं एनआरएनए यूके सदस्यका उम्मेदवार पवन शर्माले संघ अहिले क्लबका रुपमा देखिएकाले त्यो परिवर्तनका लागि सोचको विजारोपण गर्न आफूहरु नेतृत्वमा जान लागेको बताए ।

पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारीले नयां पुस्तालाई समेट्ने संस्था एनआरएनए नै भएको बताउंदै भावी दिनमा संघको महत्व झन् बढि हुने बताए । नयां पुस्ता र वुद्धिजिवीलाई एनआरएनप्रति आकर्षित गराउन चुनौति रहेको बताउंदै भण्डारीले यसमा समन्वयको खांचो औंल्याए । निर्वाचन मार्फत अलिक खारिएका र योग्य व्यक्ति आगामी नेतृत्वमा आउने विश्वास उनलाई छ ।
2
कार्यक्रममा गल्कोट समाज यूके एवं अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका सचिव पुष्प उप्रेतीले सक्षम नेतृत्व दिन उम्मेदवारहरुलाई शुभकामना दिए । पिटरबरो नेपाली समाजकी सचिव संगीता कोइरालाले नयां नेतृत्वले सोचे अनुरुप काम गर्ने आशा राखिन् ।

गोविन्द बेल्वासेले एनआरएनए पैसा हुनेहरुको क्लव बनेपनि यसलाई सुधार गर्न सकिने ठाउं प्रशस्त रहेको बताए ।

नयां संविधानको धारा १४ ले गैर आवासीय नागरिकता दिने व्यवस्था गरेपनि विदेशको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने भन्ने नागरिकता ऐनको दफा १० को व्यवस्था संविधानसंग बाझिएकाले त्यसलाई बदर गर्न मुद्दा दायर गरिएको बेल्वासेले जनाए । मुद्दाको आगामी १७ नोभेम्बरमा संवैधानिक इजलासमा सुनुवाइ हुंदैछ ।

पत्रकार बी के पाण्डेले एनआरएनएका कुरा आउने बित्तिकै आशा, निराशा र पीडा गांसिएर आउने बताए । नयां पुस्तालाई समयमा नसमेटिए भविष्यमा एनआरएनएमा कोही पनि नहुने बताउंदै पाण्डेले नयां नेतृत्वमा वौद्धिक जमात पनि देखिएकाले आशावादी रहेको टिप्पणी गरे ।

तस्विरः शिव भण्डारी