१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सातै प्रदेश र केन्द्रमा एमालेको बहुमत आउँछः अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार १५:१६

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताउनुभयो ।
भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई धाँधली गरेर हराइएको आरोप लगाउनुभयो । एमालेविरुद्ध अनेक मोर्चाबन्दी भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता कुनै मोर्चाबन्दीले कुनै असर पार्न नसक्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई चुनाव केन्द्रीत एजेण्डामा छलफल गरेर आउँदो निर्वाचनमा जुट्नसमेत निर्देशन दिनुभयो । एमाले देश बनाउने संकल्पका साथ लागेकाले राष्ट्रिय समृद्धिका लागि एमालेमा समाहित हुन सबैलाई आग्रह गर्नुभयो । अबका निर्वाचनपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँगै देश समृद्धितर्फ अगाडि बढ्ने भन्दै उहाँले यो सबैको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।
एमाले सहअस्तित्व, सद्भावना र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै शान्ति विरोधीहरुको प्रतिवादमा पनि पार्टी जुट्ने बताउनुभयो । सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई अबिर र माला लगाएर स्वागत गर्नुभएको थियो ।
अनेरास्ववियूका अध्यक्ष नवीना लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले नेता रवीन्द्र अधिकारी, जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
तीन दिनसम्म चल्ने बैठकमा देशभरका ५०० प्रतिनिधि, १०० पर्यवेक्षक र १०० स्वयंसेवक सहभागी छन् । सहभागीलाई कार्यकर्ताको घरघरमा राख्ने व्यवस्था गरिएको छ ।