१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिस्त्रि खोला जलविद्युत्को काम द्रुत गतिमा

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार ०५:२१

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रि खोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १६ महिनादेखि आफ्नो निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाएको छ ।

नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध रहने यस आयोजनाको दुई हजार ३०० मिटर सुरुङमागबाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालिगण्डकी नदीको किनारमा रहने विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

पूर्वाधार निर्माणमा परिचालन भएको हाइ हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९५८ मिटर लामो सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इञ्जिनियरिङका आवासीय इञ्जिनियर दिवाकर खड्काले बताउनुभयो ।

सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको यस आयोजनाबाट आगामी सन् २०१९ फेब्रुअरी सम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । आयोजनाको सुरुङमार्गभित्र नै ११५ मिटर लामो, साढे आठ मिटर चौडाइ र १३ मिटर गहिराइका दुई वटा बालुवा थिग्र्याउने पोखरीसमेत निर्माण भइरहेको छ । जसको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको बाँध निर्माणको अधिकांश काम सम्पन्न भएको र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणलाई दु्रत गति दिएको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत्गृहतर्फको २६ प्रतिशत, पेनस्टक पाइएको १८ प्रतिशत र सुरुङमार्ग भित्रको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खड्काले जानकारी दिनुभयो ।
विद्युत्गृहतर्फको कामलाई प्रभावकारी बनाउन नारच्याङस्थित आवासगृहबाट सिसीटिभीमार्फत अवलोकन गर्ने व्यवस्थासमेत गरिएको छ । वर्षाले निर्माण कार्यलाई केही प्रभाव पारे पनि संरचना निर्माणको काम नरोकिएको आयोजनाले जनाएको छ । यस आयोजनामा अहिले २५६ जना कामदार परिचालन छन् ।
रु साढे पाँच अर्बभन्दा बढी लागत अनुमान गरिएको यस आयोजनाले जलविद्युत्को निर्माण कार्य पूर्वनारच्याङमा छ किमी सडक विस्तारसँगै तीन वटा मोटरेवल पुल निर्माण गरेको जनाएको छ ।