१३ बैशाख २०८१, बिहीबार
Follow Us

खेतला महिलाका नाइके

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार १०:१६

दबदबे हिलोमा धान रोपिरहेकी सपना गुरुङको मोवाइलको घन्टी बज्यो । एक हात सलले पुछ्दै मोबाइलको फोन उठाइन् – हेलो ! भोली त अर्काेकोमा रोप्न जानु छ । तपाईंकोमा पर्सि रोपौंला है ।’ कुरा सकेर फेरि खेतलासँगै रोप्न थालिन् । एकैछिन् मोबाइलको घन्टी बज्यो । फोन उठाइन् र भनिन् ‘तपाइकोमा चाँही निकोपर्सि मात्र ।’ अनि प्रश्न गरिन् ‘कति जना आउनुपर्छ ? उताबाट के जवाफ आयो कुन्नी ! हुन्छ भन्दै सपनाले कुरा टुङ्ग्याइन् ।

चितवनको भरतपुर महानगरपालिका १८, रैगञ्जकी ४२ वर्षीया सपनाको यो काम कृषि मजदुरको नाइकेको हो । हिजोआज उनी धान रोप्न, गोड्न र तरकारी खेतीका काममा मजदुर खोजिदिन्छिन् ।

५ वर्षअघि सामान्य मजदुरी गर्ने सपना अहिले मजदुर नाइके भएकी हुन् । गोरखा स्थायी घर भएकी उनले ६ वर्षअघि श्रीमान्लाई ऋण गरेर साउदी अरब पठाएकी थिईन् । त्यसपछि गोरखाबाट चितवन झरेकी उनी श्रीमान्लाई विदेश पठाएको ऋण तिर्न सुरुका दिनमा आफै ज्यालाको काम खोज्ने गर्थिन् ।

२ छोराको रेखदेख र दिनभरको मजदुरीमा उनी व्यस्त हुन थालेपछि अलिअलि कमाइ गर्न थालिन् । उनी कुनै दिन पनि खाली बस्दैनथिन् । परिश्रमी सपनालाई देखेर उनका साथीभाइले पनि काम खोजिदिन अनुरोध गर्न थाले ।

सपना भन्छिन् ( साथी भाईलाई पनि काम खोजिदिनुपर्ने बेला जग्गा धनीले पनि खेताला खोजिरहेका हुन्थ्ये । खेतला लगिदिँदा जग्गाधनी पनि खुशी हुन थाले । अनि मलाई खेतला ल्याइदिए बापत केही रकम दिन थाले ।’

साथीहरुलाई सहयोगको लागि थालिएको कामले उनलाई मजदुर खोजिदिने नाइकेको रुपमा चिनायो । अहिले एकजना मजदुर खोजिदिएबापत बापत उनले अहिले २५ रुपैयाँ र रु ५० को रुपैयाको रिचार्ज कार्ड पाउने गरेको बताईन् ।नाइकेको भूमिका प्रष्ट्याउँदै सपना भन्छिन् ‘दिउँसोको मेला रहेछ भने बिहान फोन गरेर भनिदिन्छु । बिहान जानुपर्ने रहेछ भने बेलुका नै भनिदिन्छु ।’

अहिले सपनासँग १७ जनाको समूह छ । आफूलाई पायक पर्ने ठाउँमा सपना पनि काम गर्न जान्छिन् । दिनभर ज्यालादारी गर्छिन् । अहिले उनले आफ्नो कमाईले घर खर्च धान्दै आएकी छिन् । श्रीमान्ले विदेशबाट पाठाएको रकम बचाउने गरेको उनले बताईन् ।

ज्याला मजदुरी गर्न गोरखाबाट चितवन झरेकी सपनाले अहिले आफ्नो घर बनाइसकेकी छिन् । उनले थपिन् ‘श्रीमानको कमाईमा मात्र आशा गरेको भए मैले आफ्नै घर बनाउन सक्ने थिइन ।‘

भरतपुर १८, गाजीपुरकी ५१ वर्षीया खुममाया आलेको परिचय पनि महिला नाइके हो । १९ जना महिला मजदुरकी नाइके खुममायाको समूहले पनि खेत रोप्ने, मकै, धान गोड्ने, तरकारी बारी लगायतममा कृषि मजदुरको रुपमा काम गर्छन् ।

६ वर्षदेखि नाइके काम गर्दै आएकी खुममायाले पनि प्रति मजदुर २५ रुपैयाँ पाउँछिन् । मजदुर खोजिदिने कामसँगै उनी आफै पनि मजदुरी गर्छिन् । जसबाट उनलाई थप कमाई हुन्छ ।

केही वर्ष अघिसम्म मजदुर खोजिदिने काम महिलाले गर्दैनथे । उनीहरु त पुरुषले खोजिदिएको काममा जाने गर्थे । अहिले मजदुर खोजिदिने काम पनि महिला आफै गर्न थालेका छन् भने ज्यालाको निर्धारण गर्न पनि महिला नै अगाडि बढ्छन् ।

महिला नाइकेले नै चलेको रकमभन्दा कम ज्यालामा बोलाए त्यो ठाउँको काम नै नजानेगर्छन्।। भरतपुर महानगरालिका २३ जगतपुरकी, भक्ती सुनाँर पनि नाइके नै हुन् ।४४ वर्षिया भक्तीको समुहमा ३० देखि ३५ जनामहिला रहेने गर्छन् । पार्वतीपुर,भिमनगर, सुर्यनगर लगायतका क्षेत्रका खेतहरुमा धान ,मकै लगायत तरकारीको काम गर्न उनले खेतला लगीदिने गर्छिन् यस वापत उनले १ खेतला बराबर १५ सम्म लिने गर्छिन् । सामान्यतया चल्तीको ज्याला जग्गाधनीले दिने गरेको बताउँदै कसैले नदिए अर्को पटकदेखि उसकोमा काममा नै मजदुर नलैजाने उनी बताउँछिन् । उनी ८ वर्षयता कृषि मजदुरकी नाइके हुन् । विशेष गरी उनीहरुको समूहमा महिला मजदुर नै हुने गरेका छन् । तर, धान रोप्ने मौसममा भने पुरुषपनि खोज्नुपर्ने उनले बताईन् । नाइकेसँग सम्पर्क गर्दा भने काम मिलिरहने हुनाले मजदुरहरु पनि नाइकेको समूहमा बस्न रुचाउँछन् । भने, जग्गाधनीले पनि एक जनालाई मात्रै सम्पर्क गर्दा मजदुर पाइने हुनाले नाइकेलाई नै सम्पर्क गर्छन् ।

पुरुष नाइके भन्दा महिला नाइके हुँदा मजदुर महिलाले पनि काममा सहजता महसुस गरेका छन् । महिला नाइकेसगँ काम गर्दा आफ्नो समस्या राख्न सजिलो हुने सपनाको समूहकी मजदुर अस्मिता गुरुङले बताइन् ।
अस्मिताल थपिन् ‘कहिलेकाँही खर्च चाहियोभने महिला नाइइकेसँग माग्न पनि सकिन्न्छ । आफूलाई स्वास्थ्य समस्या पर्दा पनि महिला नाइकेसँग भन्न सजिलो हुने । पुरुषसँग केही भन्न पनि अप्ठ्यारो । अझ उनीहरुको घर जाँदा परिवारले पनि राम्रो मान्दैनथे ।’ उनले पुरुष नाइकेले पहिले ज्यालामा समेत ठग्ने गरेको तर महिलाले त्यसो नगर्ने अनुभव पनि सुनाइन् ।

कृषि काममा मजुर खोजिदिन महिला नाइके हुँदा जग्गाधनीले पनि सहज महसुस गरेका छन् । भरतपुर महानगरपालिका १५, की सीता पन्डित भन्छिन् ‘पहिला पहिला पुरुष नाइकेहुँदा भनेको समयमा कामदार पनि नल्याइदिने । ज्याला पनि पनि मनपरी माग्ने गर्थे । तर महिला नाइकेले इमान्दार भएर काम गरिदिन्छन् ।’।

अन्य क्षेत्रमा पनि महिलाको नेतृत्व बढेझैं कृषि क्षेत्रमा पनि महिलाले नेतृत्वले प्रवेश पाउन थालेको अन्तरपार्टी महिला सन्जाल चितवनकी निर्वतमान अध्यक्ष संगिता भटराईको बुझाई छ । महिला कामदारको नेतृत्व महिलाले नै गर्दा तल्लो तहदेखि नै समाज रुपान्तरणमा पनि टेवा पुगेको बताउँदै निर्वतमान अध्यक्ष भटराईले यसले कृषिमा काम गर्ने महिलाबीच सकारात्मक प्रभाव पर्ने बताइन् । निवर्तमान अध्यक्ष भटराईले कृषि क्षेत्रमा लागेका महिला नाइकेहरुको उत्साह थप्न आवश्यक रहेको औल्याइन् ।
महिला कृषि मजदुर हरुको समुहको नेतृत्व वर्तमानमा महिलाले नै गर्ने गरेकाले यसले पनि लैग्किग विभेद हटाउन सहयोग पुग्ने देखिन्छ ।
सिर्जना अर्याल/महिला खवरबाट