१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुधबार सरकार विस्तार : राप्रपा (प्रजातान्त्रिक) चार मन्त्रालय लिएर सरकारमा जाँदै

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार ०४:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर नयाँ पार्टी गठन गरेको एक महिना नपुग्दै पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक) लाई चार मन्त्रालयसहित सरकारमा सहभागी बनाएर छैटौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बुधबार सरकार विस्तारको सम्भावना रहेको बताए । ‘अहिलेसम्म ‘फिक्स’ भएको छैन, बुधबार मन्त्रिपरिषद् विस्तारको सम्भावना छ,’ मन्त्री बस्नेतलाई उदृत गर्दै मंगलबार नयाँ पत्रिकाले लेखेको छ ।

देउवा र प्रचण्डसँगको छलफलपछि मिति तय
राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनीलबहादुर थापाले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष राणाबीचको छलफलले सरकारमा पार्टीको सहभागिताको मिति तय गर्ने बताए । ‘पार्टी अध्यक्ष र म आज मात्रै तराईबाट काठमाडौं आइपुग्याँै । अब प्रधानमन्त्री देउवा, प्रचण्ड र पार्टी अध्यक्षबीच छलफल भएर सरकारमा सहभागी कहिले हुने मिति टुंगिन्छ,’ थापाले भने, ‘बुधबार हुने सम्भावना छ, मिति निक्र्योल भइसकेको छैन ।’

देउवाले राप्रपा (प्रजातान्त्रिक) लाई चार मन्त्रालय दिएर सरकारमा सहभागी बनाएपछि अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हुनेछ । अहिले देउवा मन्त्रिपरिषद् ५० सदस्यीय छ । देउवा २०५२ सालमा प्रधानमन्त्री हुँदा ५२ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

यी हुन् राप्रपा (प्रजातान्त्रिक) ले पाउने मन्त्रालय
आफूहरूले चार मन्त्रालय मागेको थापाले बताए । अहिले प्रधानमन्त्री देउवासँग वन, उद्योग, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय छन् । राप्रपा (प्रजातान्त्रिक) निकट स्रोतले चार मन्त्रालयमा पठाउने नेताको टुंगो पनि अध्यक्ष राणाले शीर्ष नेताहरूसँग अनौपचारिक छलफलबाट टुंग्याइसकेका छन् । विजयवास स्रोतले सरकारमा उपाध्यक्षद्वय दीपक बोहरा र विक्रम पाण्डे, महामन्त्री सुनीलबहादुर थापा र केन्द्रीय सदस्य रामकुमार सुब्बालाई मन्त्री बनाउने सहमति शीर्ष नेताबीच भएको बतायो । बोहरालाई वन, पाण्डेलाई विज्ञान तथा प्रविधि, थापालाई उद्योग र सुब्बालाई शान्ति तथा पुनर्निर्माण मन्त्रीमा सिफारिसको तयारी अध्यक्ष राणाले गरेका छन् । संविधानसभा निर्वाचन २०७० मा पाण्डे चितवन–५, बोहरा रूपन्देही–२ र थापा धनकुटा–२ बाट तत्कालीन राप्रपाबाट निर्वाचित भएका थिए । सब्बा भने तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीबाट सांसद भएका थिए ।