१६ चैत्र २०८०, शुक्रबार
Follow Us

किरातीलाई मुख्यमन्त्री

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार ०४:५७

खोटाङ । किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नं १ को मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिनुभयो ।

“किरातीलाई मुख्यमन्त्री बनाउन एकबुथ एक फोर्स, एक एकबुथ एक किरात मोर्चा तयार गरेका छौँ ।” उहाँले भन्नुभयो, “अभियानका लागि प्रदेश, नगर, वडा, गाउँ र टोलसम्म कमिटी निर्माण गर्ने तयारीमा छौँ ।”

सो अवसरमा मोर्चाको प्रदेश नं ३ को भेलासमेत आयोजना गरिएको र बैठकमा अध्यक्ष राजन किराती (वासु), उपाध्यक्ष मानबहादुर राई, महासचिव जम्नेलीलगायतले आगामी चुनावलाई लक्षित गरेर निर्देशनात्मक प्रशिक्षणसमेत दिनुभएको जनाइएको छ । पूर्व संस्कृति तथा पर्यटनमन्त्री भइसक्नुभएका गोपाल किराती हाल नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं १ नं प्रदेशका संयोजक हुनुहुन्छ ।

किरातीलाई यसअघि विराटनगरमा बसेको पार्टीको सचिवालय बैठकले समेत प्रदेश नं १ को मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय गरेको थियो ।