१२ बैशाख २०८१, बुधबार
Follow Us

सोह्रश्राद्ध शुरु

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७४, बुधबार १४:३७

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“सक्नेले यो पक्षका सोह्रै दिन नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँशीसम्म, यो पनि नसक्नेले दशमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताको मृत तिथिमा सोह्रश्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ”– उहाँले भन्नुभयो ।

यी तिथिमा कारणबश रोकिए आश्विशुक्ल पञ्चमीसम्म, यसमा पनि रोकिए कात्तिक कृष्ण औँशी अथवा गाई तिहारे औँशी, यसमा पनि नहुने भएमा मङ्सिर सङ्क्रान्ति अघि नन्दा तिथि र शुक्रबार नपारी गर्नुपर्ने विधान रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

“वैकल्पिक रुपमा तोकिएका यी तिथिमा पनि श्राद्ध नगरे वायुका रुपमा घुमेका पितृले सुस्केरा हाली अक्षम्य दोष लगाएर श्राप दिने धर्मग्रन्थमा वर्णन गरिएको छ”– उहाँले भन्नुभयो ।

शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्धभर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’ श्राद्ध गरिन्छ । यस अवसरमा गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया, त्रिवेणीलगायत नदी किनारमा श्राद्ध गर्नेको भीड लाग्छ ।