१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्षेत्रीको लाञ्छनाविरुद्ध पत्रकार महासंघ यूकेको आपत्ति

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७४, बिहीबार १०:२६

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वअध्यक्ष एवं आईसीसी सदस्य योगेन्द्रबहादुर क्षेत्रीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुमाथि सामाजिक सञ्जालमा असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखा अध्यक्ष नरेश खपांगी मगरले बुधबार साँझ विज्ञप्ति निकालेर कुनै पनि समाचारमा चित्त नबुझे सम्बन्धित प्रकाशन गृहसित आफ्ना कुरा राख्ने तरिका र प्रक्रिया हुने र त्यस्तो प्रयासबाट चित्त नबुझे अपनाउने अरु उपाय हुँदाहुँदै समाजका जिम्मेवार व्यक्तिले सिंगो पत्रकारिता पेसा र समस्त पत्रकारहरुप्रति नै निकृष्ट शब्दमा टीकाटिप्पणी गर्नु र परिवारसमेतलाई धम्क्याउनु निन्दनीय कार्य भनेका छन् ।

विज्ञप्तिमा क्षेत्रीको उक्त कार्यको भर्त्सना समेत गरिएको छ । ‘पत्रकारिता पेसा व्यावसायिक र मर्यादित बनाउन महासंघ दृढ छ र युकेस्थित नेपाली समाजका सबै तप्काबाट यस उद्देश्यलाई सघाउ पुग्ने व्यवहारको अपेक्षा राख्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए यूकेको निर्वाचन सन्निकटमा आइरहेको सन्दर्भमा सबै सहकर्मी पत्रकारहरुलाई पेसागत धर्म नबिर्सी कार्यसम्पादन गर्न पनि महासंघ आग्रह गर्दछ ।’

क्षेत्रीले हालै एक अनलाइनमा प्रकाशित एनआरएनए यूकेको समाचारलाई लिएर उक्त वेबसाइटमा आवद्ध र अन्य समस्त पत्रकारहरुको मानमर्दन हुने आक्षेप लगाएका थिए । क्षेत्रीले सामाजिक सञ्जालमा रक्सी बियर र घुसमा बिक्ने भाते पत्रकारहरु भन्दै उनीहरुलाई भाते अवार्ड दिइनुपर्ने जस्ता निकृष्ट, अमर्यादित, अशोभनीय र असभ्य भाषा प्रयोग गरेका थिए ।