१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सबै दलका उम्मेदवार वीरगन्ज महानगरमा, भिडन्त रोचक हुने

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७४, बिहीबार ११:२९

वीरगन्ज । १४ स्थानीय तह रहेको पर्सामा उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै चुनावी रौनक निकै बढेको छ । त्यसमाथि प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्ज त सबैको चासोको रुपमा रहेको छ । वीरगन्जमा सबै पार्टीले प्रभावशाली उम्मेदवार उठाएकाले त्यहाँको चुनाव झन् रोचक हुने देखिएको छ ।
उम्मेदवारको मनोनयन दर्ता गर्नुअघिसम्म चुनावी गठबन्धनको चर्चा हुने गरेपनि प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जमा सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । महानगर प्रमुखका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वीरगन्जमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारको चर्चा बढी हुने गरेको छ । ती सबै दलले महानगरको नेतृत्व आफ्नो पोल्टामा पर्ने दाबी गरिरहेका छन् ।
मधेस आन्दोलनको चपेटामा परेको वीरगन्ज महानगरको नेतृत्वका लागि नेपाली कांग्रेसले अजय द्विवेदीलाई अघि सारेको छ । एमालेले व्यापारी बसरुद्दिन अन्सारीलाई मैदानमा उतारेको छ भने माओवादी केन्द्रले युवा नेता रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ ।
६ महिनासम्म मधेस आन्दोलन चर्काएको र पहिलो तथा दोस्रो निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले वीरगन्जको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ । मधेस आन्दोलनकै अर्को सहयात्री दल संघीय समाजवादी फोरमले व्यापारी विजय सरावगीलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी, राजपाबाट विद्रोह गरेका नेता तथा पूर्वनगरप्रमुख विमल श्रीवास्तवलाई नेपाल लोकतान्त्रिक फोरमले मेयरको उम्मेदवार बनाएको छ । त्यसले गर्दा पनि वीरगन्जको चुनावी माहोल धेरैको चासोमा परेको हो । मधेसी दलहरुबीचको तीव्र प्रतिस्पर्धा र उम्मेदवारीप्रतिको असन्तुष्टिका कारण कांग्रेस भने निकै हौसिएको छ ।
कांग्रेसले आफ्नो पकड क्षेत्र मान्दै आएको वीरगन्जलाई प्रतिष्ठाको विषयसमेत बनाएको छ । २० वर्षअघि भएको स्थानीय निर्वाचनमा पनि कांग्रेसले वीरगन्जको नेतृत्व सम्हालेको थियो । तर, यसपटक वीरगन्ज महानगरपालिकामा रुपान्तरण भइसकेपछि आसपासका गाविसहरु पनि जोडिएका छन् । त्यसकै आधारमा राजपाले यसपटकको नेतृत्व आफूले हात पार्ने दाबी गर्दै आएको छ ।
एमाले र माओवादीले पनि विगतकोभन्दा यसपटकको अवस्था निकै सुध्रिएकाले आफूले जित हात पार्नेमा ढुक्कजस्तै देखिएका छन् । प्रभावकारी नेता श्रीवास्तवलाई मैदानमा उतारेकाले लोकतान्त्रिक फोरम पनि निकै हौसिएको छ ।