७ बैशाख २०८१, शुक्रबार
Follow Us

के छ राजपाको घोषणापत्रमा ?

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७४, बिहीबार १४:३८

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले स्थानीय तहको निर्वाचनलाई संघर्षकै रुपमा प्रयोग गर्ने भएको छ । स्थानीय तहको दुई चरणको निर्वाचन बहिष्कार गरेको राजपाले प्रदेश नं २ मा आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनलाई संघर्ष, अवसर र चुनौतीका रुपमा लिएर जनतामाझ जान लागेको जनाएको हो ।

पार्टीका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेता सहभागी पत्रकार सम्मेलनमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जनमतको भावनालाई बुझेर आफूहरु निर्वाचनमा होमिएको बताउनुभयो । “यो निर्वाचन संघर्षकै रुप हो । जनमतका लागि जनतामा जाने चुनौतीका रुपमा स्वीकार गरेका छाँै । हाम्रो सडक संघर्ष जारी नै छ, जनमत देखाएर संविधान संशोधन प्रस्ताव फेल भयो, जनमतलाई बुझेर हामी पनि जनमतका लागि निर्वाचनमा जादैछौँ”, उहाँले भन्नुभयो ।

नेता महतोले विचार मिल्ने पार्टीसँग निर्वाचन हुनुभन्दाअघिसम्म निर्वाचन तालमेलको प्रयास जारी रहने उल्लेख गर्दै ‘तीन ठूला राजनीतिक दलकै कमजोरीका कारण’ मधेशमा विद्रोह जन्मिएकाले अबको मत आफ्नो पक्षमा आउने जिकिर गर्नुभयो । अब पार्टीका सबै नेता निर्वाचनलाई लक्ष्य गरेर योजनाबद्ध ढंगले निर्वाचन क्षेत्रमा परिचालन हुने र निर्वाचनबाट आउने परिणाम स्वीकारेर अघि बढ्ने नेता महतोले बताउनुभयो ।

तराई–मधेश केन्द्रित छ राजनीतिक दल मिलेर गठन भएको राजपाका लागि यो निर्वाचन प्रतिष्ठाको लडाइँ पनि हो । प्रमुख दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा जनमत बलियो पार्न यतिखेर मधेश दौडाहमा छन् तर राजपाका नेता भने राजधानीमै केन्द्रित छन् । अन्य दलले जतिसुकै प्रचार गने पनि मत आफ्नो पक्षमा आउने राजपाको जिकिर छ ।

पार्टीभित्रको सन्तुलन कायम गर्न नसक्दा पार्टीका प्रभावशाली पदाधिकारी नै पार्टी परित्याग गरी अन्य पार्टी प्रवेश गरिरहेका अवस्थामा राजपालाई निर्वाचन फलामको चिउरा झैँ बनेको छ तर पनि राजपालाई निर्वाचनमा जानाको विकल्प छैन । त्यसैले परिणाम जस्तो आए पनि स्वीकारेर अघि बढ्ने उसको रणनीति छ ।

निर्वाचनमा कति सिट जित्नुहुन्छ भन्ने जिज्ञासामा नेता महतोले भन्नुभयो, “जनताले जति सिट जिताउँछ, त्यति नै जीत हुन्छ, हाम्रो दाबी त सबै उम्मेदवारले जितोस् भन्ने हो ।” राजपाले स्थानीय तहको निर्वाचनपछि तत्कालै फेरि संविधान संशोधन गर्न दबाब दिनका निम्ति आफ्नो संघर्षको कार्यक्रम निरन्तर रुपमा चलिरहने घोषणापत्रमा उल्लेख गरेको छ ।

राजपाले तेस्रो शक्ति माओवादी केन्द्रप्रति कडा आलोचना गरेको छ । संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायत पार्टी विगतका व्यक्तिगत र निहित स्वार्थले प्रेरित क्रियाकलापबाट मधेशीको बेइज्जति भएको र मधेशका मागओझेलमा परेको राजपाको आरोप छ ।

प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जको विकासलाई उच्च प्राथमिकता दिई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजना लिएको राजपाले जनकपुर उपमहानगरपालिकालाई महानगर बनाउन प्रयत्न गर्ने जनाएको छ ।
पर्यटन पूर्वाधारको राष्ट्रिय सञ्जाल निर्माण एवं विकास गरी वर्षैभरी देशमा विदेशी पर्यटक आकर्षित गर्नका लागि तराई–मधेश पर्यटनको छुट्टै अवधारणा विकास गर्ने नीति लिएको राजपाले तराई पर्यटन सञ्जालको परिकल्पना गरी धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको संरक्षण प्रवद्र्धन गर्ने जनाएको छ ।

बाढीपीडित पुनःनिर्माण प्राधिकरण गठन संकल्प
राजपाले यस वर्ष बाढीबाट भएको क्षतिको यकिन गरी तत्काल बाढीपीडित पुनःनिर्माण प्राधिकरण गठन गरी मधेशमा आधुनिक भवन निर्माण गर्ने संकल्प गरेको छ । हरेक वर्ष बाढीबाट हुने क्षतिलाई दीर्घकालीन रुपमा समाधान गर्न तीव्र गतिमा चुरे क्षेत्रमा वृक्षरोपण गर्ने, वन कटानी रोक्ने र चुरे वनदेखि सीमासम्म खोलामा दुवैतर्फ तटबन्धन गर्ने घोषणापत्रमा उल्लेख छ ।

राजपाले मधेशको कृषिजन्य भू्मिको उपयोग गरी प्रत्येक गाउँपालिका÷नगरपालिकामा मलखाद, बीउबिजन केन्द्र, बाली पशु चिकित्सक र पशु सेवा उपलब्ध गराउने तथा ती निकायका वडा कार्यालयमा इन्टरनेट र वाइफाइ सेवा उपलब्ध गराउने जनाएको छ ।

मधेशमा खेतीपातीका लागि आवश्यक सिँचाइ, सबै सरकारी विद्यालयमा छात्रछात्राका लागि पौष्टिक आहार, शहीद आवास, युवा स्वरोजगारका लागि केही अनुदान र ब्याजरहित ऋण व्यवस्था, आमा र शिशु मृत्युदर घटाइने, दाइजोविरुद्ध अभियान र आदर्श विवाह गर्ने जोडीलाई रु २५ हजार सहायता प्रदान गरिने घोषणापत्रमा समेटिएको छ ।