१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिरहा नपाको प्रमुख पदमा तीन डाक्टर उम्मेदवार

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७४, शुक्रबार १३:२०

लहान । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबिबिएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । बिरामीको उपचार गर्दै आउनुभएका तीनै जना एमबिबिएस एमडी डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ ।

नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा. सुभाषचन्द्र नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरो हुनुहुन्छ । डा. सुभासचन्द्र काँग्रेसका महासमिति सदस्यसमेत हुनुहुन्छ । उहाँ सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आउनुभएको छ ।

यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरो हुनुहुन्छ । डा. नवीन एमाले छाडेर विसं २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लड्नुभएको थियो । त्यसपछि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएका उहाँ फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बन्नुभएको छ । उहाँले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आउनुभएको छ ।

नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका डा दिलीप सदा दलित समुदायको हुनुहुन्छ । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहनुभएका डा. सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लो पटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताउनुभएको छ । तीनै जनाले आफूहरु चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीवता दिने बताउनुभएको छ ।

उहाँहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । फोरमबाट उम्मेदवार बन्नुभएका यादव पूर्वप्रमुखसमेत हुनुहुन्छ ।

सिरहा नगरपालिकाको प्रमुख पदका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेका लगायतका दलका तर्फबाट नौ जना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिनुभएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् ।

नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।
– राजु विश्वकर्मा