१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसका शीर्ष नेताहरु प्रदेश २ को निर्वाचनमा

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार ०६:०७

काठमाडौं । प्रदेश नम्बर २ का १३६ पालिकामध्ये कम्तीमा एक सय पालिकामा चुनाव जितेर पहिलो पार्टीको हैसियत कायम राख्ने संकल्पका साथ नेपाली कांग्रेसका शीर्ष नेताहरू चुनावी अभियानमा खटिएका छन् । पूर्वमहामन्त्री विमलेन्द्र निधि लामो समयदेखि धेरैजसो आफ्नो गृहनगर जनकपुरधाममै छन् । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला चार दिनको कार्यक्रम बनाएर २७ गते मंगलबार विराटनगर हुँदै जनकपुर प्रस्थान गर्दैछन् । शीर्ष नेताहरू ३० गते शुक्रबार वीरगन्ज, सिमरा हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शीर्ष नेताहरू देउवा, पौडेल, कोइराला र निधिले २७ गते मंगलबार दिउँसो १ बजे सप्तरीको राजविराजमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बेलुका ४ बजे सिरहाको जिरो माइलमा हुने आमसभालाई सम्बोधन गरेपछि जनकपुरधाममा बस्न जाने कार्यक्रम रहेको छ । यसैगरी, भोलिपल्ट २८ गते बुधबार बिहानैदेखि धनुषा र महोत्तरीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
त्यही दिन दिउँसो १ बजे जनकपुरमा हुने बृहत् आमसभालाई सम्बोधन गरी अपरान्ह ४ बजे महोत्तरीको बर्दिवासमा हुने विशाल आमसभालाई पनि नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त आमसभालाई सम्बोधन गरेपछि बेलुका जनकपुर गएर बस्ने कि वीरगन्ज गएर बस्ने भन्ने टुंगो लाग्न बाँकी छ । २९ गते बिहीबार दिउँसो १ बजे सर्लाहीको मलंगवा र अपरान्ह ४ पजे रौतहटको गौरमा हुने आमसभालाई शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । ३० गते शुक्रबार दिउँसो १ बजे बाराको कलैया र अपरान्ह ४ बजे वीरगन्जमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा सोही दिन काठमाडौं फर्कर्ने र निधि मतगणना सुरु नभएसम्म जनकपुरमै बस्ने कार्यक्रम रहेको छ । नेता पौडेल र महामन्त्री कोइराला कहिले फर्कने भन्ने टुंगो लागिसकेको छैन । शनिबारदेखि निर्वाचन प्रचार प्रसार बन्द हुने भए पनि कोठाभित्र हुने कार्यकर्तासँगको भेटघाटलाई भने आचार संहिताले प्रभावित पार्ने छैन ।
– तरुणबाट