१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘सिर्जना गुरुङ भर्इन मिस युके नेपाल’

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७४, सोमबार १२:१३
 

बेलायतको लण्डनमा आइतबार राती सम्पन्न छैठौं मिस युके नेपाल २०१७ को ताज सिर्जना गुरुङले जितेकी छन्। फाइनलमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनीले निर्णायक र दर्शकको मन जितेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख शरदराज आरन, मिस यूके नेपालकी निर्देशक शान्ति गुरुङ र मुख्य प्रायोजक पिपल मोर्गेजका सूर्य प्रकाश गुरुङले उनलाई ८ सय पाउण्ड नगद पुरस्कार प्रदान गरे।

प्रतियोगितामा सुजना पुन फर्स्ट रनर अप र लिसा सुनार सेकेण्ड रनर अप भएका छन्। उनीहरुले क्रमशः ५ सय र ३ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरेका छन्।

गुरुङलाई विजयी घोषणा गरेपछि पूर्व मिस नेपाल माल्भिका सुब्बाले बधाइ दिँदै ताज पहिर्‍याइदिएकी थिइन्। मिस युके नेपालको ताज जितेपछि गुरुङले भनिन्, ‘म ज्यादै हर्षित छु, म सँधै नेपाल र नेपालीलाई आफनो मनमा राखेर हिँड्ने छु।’ उनीले नेपाली दाजुभाइ–दिदीबहिनीको सेवा गर्ने चाहना रहेको पनि बताइन्।

प्रतियोगिताको निर्णायक मण्डलमा विमला सेने, आनन्द कार्की, कृष्ण भट्ट, डा. रेनुका गुरुङ र दुर्गा गुरुङ थिए।

पूव नेपाल सुन्दरी माल्भिका सुब्बा प्रतियोगिताको प्रमुख कोरियोग्राफर एवं प्रशिक्षक थिइन्। लण्डनको एल्डरसट स्थित एम्पायर हलमा भएको सो कार्यक्रममा दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न गीत र नृत्यहरु पनि प्रस्तुत गरिएको थियो।