६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश र प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७४, मंगलवार ०३:५०

काठमाडौं । आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फको पहिलो चरणको निर्वाचन लागि ५ कात्तिक र दोस्रो चरणका लागि १६ कात्तिकमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

१० मंसिरमा हुने निर्वाचनका लागि ८ कात्तिकमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उनीहरूलाई निर्वाचन चिन्ह सोही दिन प्रदान गरिनेछ । २१ मंसिरमा हुने दोस्रो चरणका लागि उम्मेदवारको अन्तिम नामावली १९ कात्तिकमा प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

राजनीतिक दलले समानुपातिकको बन्दसूची पेस गर्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै सूची पेस गर्नुपर्नेछ । प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार बन्दसूची पेस गर्दा प्रत्येक प्रदेशका लागि अलग अलग बन्दसूची पेस गर्नुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रत्यक्षभन्दा पछि समानुपातिकका उम्मेदवार
१० र २१ मंसिरमा हुने दुवै चरणको प्रत्यक्ष निर्वाचनका लागि समानुपातिक निर्वाचनमा भाग लिने दलले २९ असोजमा दलका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । निर्वाचन कार्यक्रमअनुसार ३ मंसिरमा उम्मेदवारको बन्दसूची प्रकाशन गरिनेछ । निर्वाचन आयोग र राजनीतिक दलबीच प्रत्यक्षतर्फका उम्मेदवारी दिने दिन र समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमध्ये कुन पहिला गर्ने भन्नेमा विवाद थियो । आयोग समानुपातिकको बन्दसूची पहिला हुनुपर्ने पक्षमा र दलहरू प्रत्यक्ष निर्वाचनका उम्मेदवारको मनोनयन पहिला हुनुपर्ने पक्षमा थिए । केही दिनअघि नै निर्वाचन तालिका सार्वजनिक गर्ने तयारीमा रहेको आयोग दलहरूकै दबाबका कारण केही दिन पछि हटेको हो ।

अहिले दलहरूको चाहना अनुसार दुवै चरणका प्रत्यक्ष निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशनपछि मात्रै समानुपातिक निर्वाचनमा भाग लिने दलका उम्मेदवारको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यतालिका तयार भएको छ । आयोगले समानुपातिक उम्मेदवारका लागि दाबी विरोध २५ कात्तिकदेखि १ मंसिरसम्मको समय तोकेको छ ।

यसरी छानिन्छ समानुपातिक
निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाको कुल सदर मतको संख्याका आधारमा बन्दसूचीमा सूचीकृत उम्मेदवारमध्येबाट निर्वाचित हुनेछन् । प्रत्यक्ष निर्वाचनपछि हुने मतगणनणबाट कुल सदर मत आउनेछ । आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार भएको व्यक्ति समानुपातिकतर्फको उम्मेदवार हुन पाउँदैन ।

एकै चरणमा मतगणना
निर्वाचन आयोगका अनुसार १० र २१ मंसिरको मतगणना एकै चरणमा हुनेछ । आयोग प्रवक्ता ढकालका अनुसार २१ मंसिरको मतदान सम्पन्न भएपछि मतगणना सुरु हुनेछ । १० मंसिरमा मतदान भएका हिमाली र उच्च पहाडी ३२ जिल्लाको मतपेटिका सुरक्षित राखिनेछ । आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएपछि मात्र सम्बद्ध निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले समानुपातिकतर्फको मतगणना कार्य सुरु गरिनेछ ।

४ कात्तिकमा संसद् विघटन
प्रदेश र प्रदेशसभा निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता गर्ने अघिल्लो दिन ४ कात्तिकमा व्यवस्थापिका संसद् स्वतः विघटन हुनेछ । संविधानको धारा २९६ अनुसार संसद्को आयु ४ कात्तिकसम्म मात्र रहने छ । सो धारामा उल्लेख भएअनुसार संविधानसभाबाट संविधान जारीपछि स्वतः व्यवस्थापिका संसद्मा रूपान्तरण हुने र त्यसको आयु ७ माघ २०७४ सम्म रहने व्यवस्था छ । तर, यस्तो कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचन हुने भएमा मनोनयन दर्ताको एक दिनअघि संसद् विघटन हुनेछ । आयोगले ५ कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले संवैधानिक व्यवस्थाअनुसार ४ कात्तिकमा संसद् विघटन हुने बताए ।

सरकार विस्तारमा आयोगको असन्तुष्टि
निर्वाचन आयोगले सरकार विस्तारप्रति असन्तुष्टि जनाएको छ । आयोगले सरकारलाई दिएको सातबुँदे निर्देशनविपरीत मन्त्री र राज्यमन्त्री थप गरेको आयोगको आरोप छ । आयोगले दिएको निर्देशनको पहिलो बुँदामै सरकारी कोषबाट खर्च हुने गरी कुनै पनि राजनीतिक नियुक्ति नगर्न निर्देशन दिएको थियो । सरकारले सोमबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी सपथ खुवाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने कार्यमा मन्त्रिपरिषद्को विस्तारले असर पार्ने आयोगको भनाइ छ ।

योगेश ढकाल/नयाँ पत्रिकाबाट