७ बैशाख २०८१, शुक्रबार
Follow Us

टिकट बुकिङ खुलेसँगै यात्रुको घुइँचो

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७४, मंगलवार १२:१८

काठमाडौं । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो । नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङको खबर केही दिन अगाडिदेखि नै सञ्चारमाध्यममा छाएपछि एकाबिहानै हजारौँ व्यक्ति नयाँ बसपार्कमा लामबद्ध देखिन्थे ।

आगामी असोज १० गते प्यूठानको मच्छी जान ग्वार्कोबाट टिकट लिन बिहान ४ बजे नयाँ बसपार्क आउनुभएका विकास केसीले ७ बजे टिकट पाउनुभयो । उहाँ खुशी देखिनुहुन्थ्यो । “बिहान ४ बजे पानी परिरहेको थियो, म साथीको मोटरसाइकलमा टिकट लिन आएको हुँ, वर्ष दिनपछि आएको दशैँमा त घर जानुप-यो नि”, केसीले भन्नुभयो ।

विभागले यही भदौ २२ गतेदेखि टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि यातायात व्यवसायीले विभिन्न समस्या देखाउँदै बुकिङ खुला रद्द गरेपछि आजदेखि खुला भएको हो ।

यस्तै एक वर्षको शिशु हातमा बोकेर लाममा बस्नुभएकी तारा देउवा कैलालीको लम्की जाने बसको टिकट लिने पर्खाइमा हुनुहुन्थ्यो । बिहान ७ बजे कपनबाट टिकट लिन आउनुभएकी उहाँले समयमा बुकिङ नखोल्दा आफूहरुलाई समस्या परेको बताउनुभयो । “गत वर्षमा त यति धेरै भीड भएको जस्तो लाग्दैन तर यस वर्ष ज्यादा भीड छ”, उहाँले भन्नुभयो । पूर्व तथा पश्चिम जानका लागि काठमाडौँ उपत्यकाका नयाँ बसपार्क, गौशाला, सुन्धारा, कोटेश्वरलगायत स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गर्छन् ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले ४५ वर्षका लागि जग्गा भाडामा लिएर नयाँ बसपार्क सञ्चालन गरेको छ । प्रालिका मानव संसाधन प्रमुख पंकज मल्ल लामो दूरीका लागि नयाँ बसपार्कबाट अरु समयमा दैनिक ३०० को हाराहारीमा बस बाहिर जाने गरे पनि दशैँका समयमा एक हजारको हाराहारीमा जाने गरेको बताउनुहुन्छ । उहाँले पूर्व जानेभन्दा पश्चिम जाने धेरै यात्रु टिकटका लागि बसपार्क आएको बताउनुभयो ।
लामो तथा मझौला दूरीको सवारी साधनको टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । चाडपर्वका समयमा चोरी, डकैती, ठगीलगायत घटना नहून् भन्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विशेष सुरक्षा योजना अगाडि ल्याएको छ ।

पचपन्न जनाको दरबन्दी भएको उक्त प्रभागमा बसपार्क क्षेत्रको विशेष सुरक्षाका लागि थप जनशक्ति माग गरिएको प्रभागका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार बताउनुहुन्छ ।
यस्तै यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पु-याउनका लागि यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायीलगायतले ‘यात्रु सहायता कक्ष’समेत सञ्चालन गरेका छन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रु भाडाका विषयमा नठगियून् भन्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुहुन्छ । उहाँले बढी भाडा लिइएमा तत्काल महाशाखामा खबर गर्न आग्रहसमेत गर्नुभयो ।

यात्रु सहायता कक्षमा विभागका कर्मचारी ट्राफिक प्रहरी र उपभोक्तावादी एक एक जना रहने व्यवस्था मिलाइएको छ । विभागका अनुसार प्रत्येक वर्ष २० देखि २१ लाख यात्रु दशैँ मान्नका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिन्छन् । विभागका प्रवक्ता डा टोकराज पाण्डेका अनुसार १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायात र पाँच छ लाख निजी यातायातमा बाहिरिने बताउनुहुन्छ ।

“टिकट वितरणमा कुनै समस्या छैन, सहज रुपमा सौहार्दपूर्ण रुपमा वितरण भइरहेको छ”, प्रवक्ता डा पाण्डेले भन्नुभयो । यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्ष गत वर्षको जस्तो नयाँ सवारी साधन थपेको छैन । महासंघका महासचिव सरोज सिटौला बैंकको महँगो ऋण र बाटो नराम्रो भएका कारण नयाँ बस नथपिएको बताउनुहुन्छ । उहाँले सवारी साधन नथपिए पनि यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु-याउन आफूहरु तयार रहेको बताउनुभयो ।