४ बैशाख २०८१, मंगलवार
Follow Us

पदमार्ग निर्माणमा अनियमितताको आरोप

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७४, मंगलवार १२:३२

म्याग्दी । धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ । मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिणामको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले बगरा गाउँ हुँदै दाप्चादेखि दोभान खण्डसम्मको घोडेटो पदमार्ग निर्माणका लागि पोखरास्थित पर्यटन कार्यालयको रु पाँच लाख अनुदानमा सञ्चालित सो योजनामा बढी खर्च देखाएर बजेट दुरुपयोग भएको बगरा गाउँकाबासीको भनाइ छ ।

स्थानीय बासिन्दाले दुई हजार ३०० मिटर पदमार्ग निर्माण हुनुपर्नेमा ३०० मिटरको हाराहारीमा मात्र पदमार्ग बनाएर सबै बजेट भुक्तानी लिएको उपभोक्ता समितिले काम गरेका मजदुरलाई ज्याला समेत नदिएको बताएका छन् ।

“आम्दानी खर्च विवरण सार्वजनिक गर्न र काम गरेकालाई ज्याला दिन अनुरोध गर्दा समेत सुनुवाइ भएन” सामाजिक सुरक्षाका कारण नाम सार्वजनिक नगर्न अनुरोध गर्दै बगराका एक स्थानीयवासीले भन्नुभयो ।

पर्यटन कार्यालयका प्राविधिक विजय सुवेदीले उपभोक्ता समितिले लागत अनुमानअनुसारको काम गरेको प्रतिवेदन, बिल भर्पाइ, वडा कार्यालयको सिफारिसअनुसार सबै बजेट भुक्तानी गरेको बताउनुभयो ।

वडादस्यसमेत रहनुभएका उपभोक्ता समितिका अध्यक्ष बमबहादुर पुनले लक्ष्यअनुसार नै दुई हजार ३०० मिटर पदमार्ग निर्माण भएको दाबी गर्नुभयो । आफू अस्वस्थ्यका कारण गाउँमा जान नसकेकाले आफन्तमार्फत ज्यालासमेत पठाइसकेको बताउँदै उहाँले स्वास्थ्यमा सुधार भएपछि गाउँमा गएर हिसाब सार्वजनिक गर्ने बताउनुभयो ।

सो पदमार्ग भएर संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्न सकिन्छ । धौलागिरि चक्रीय पदमार्गमा व्यवस्थित बाटो र झोलुंगे पुल प्रमुख समस्याको रूपमा रहेको छ । सो पदमार्गमा गत आर्थिक वर्षमा पर्यटन कार्यालयको अतिरिक्त जिल्ला समन्वय समितिमार्फत रु सात लाख र वडा कार्यालयमार्फत रु एक लाख ५० हजारको छुट्टाछुट्टै थप दुईवटा पदमार्ग निर्माणसम्बन्धी योजना सञ्चालन भएको थियो ।

पर्यटन बोर्डले समन्वय समितिमार्फत उपलब्ध गराएको रु सात लाखमा राचिस–चौरवन खण्डमा दुई हजार ३०० मिटर बाटो निर्माण भएको छ । साविक मुदी गाविसको रु एक लाख ५० हजार सहयोगमा तीनवटा काठको अस्थायी पुल र २०० मिटर पदमार्ग निर्माण छ । तीनवटा निकायमार्फत प्राप्त अनुदानको छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत योजना सञ्चालन भएको थियो ।

भवन निर्माणको काम शुरु भएन

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा एक वर्षअघिनै सम्पन्न हुुनुपर्ने भवन निर्माण योजनाको काम अझै शुरु हुनसकेको छैन ।

सम्बन्धित निकायको बेवास्ता, स्थानीयस्तरमा समन्वयको अभाव र निर्माण व्यवसायीको लापर्बाहीका कारण तत्कालीन हिस्तान गाविसको भवन निर्माण योजनाको काम सम्झौता भएको दुई वर्षसम्म पनि अघि बढ्न नसकेको हो । विसं २०७३ असोजमा सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले रु तीन लाख पेश्की लिएको थियो ।

गाविसको टिकोटमा एक तले चार कोठे भवन निर्माणका लागि जिल्ला प्राविधिक कार्यालय र एपी बिल्डर्सबीच विसं २०७२ असारमा रु ३४ लाखमा सम्झौता भएको थियो । भवन निर्माणस्थलमा निर्माण सामग्री (रड र सिमेन्ट) ढुवानी गर्नेबाहेक अरु प्रगति हुन नसकेको वडाध्यक्ष गमबहादुर फगामीले बताउनुभयो ।

हाल बेनी–जोमसोम सडकअन्तर्गत पर्ने महभिरस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । आर्थिक वर्ष २०७२÷७३ मा सो भवनका लागि प्राप्त भएको रु दश लाख खर्च हुन सकेको थिएन भने अब प्राविधिक कार्यालय र गाउँपालिकामध्ये कहाँबाट योजना अघि बढाउने भन्नेमा अर्को अन्यौल छाएको छ ।

निर्माण कम्पनीलाई ताकेता गरिए पनि काम गर्न नसकेको बताउँदै जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रविन मर्हजनले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको जानकारी दिनुभयो । एपी बिल्र्डसका सञ्चालक विपीन खड्काले भौगोलिक विकटता, मजदुर नपाएको र बर्खाका कारण सडक अवरुद्ध हुँदा समयमै काम शुरु गर्न नसकेको बताउनुभयो ।

“निर्माण सामग्री ढुवानी भइसकेको छ, अब तीव्ररुपमा काम अघि बढाउँछौँ” खड्काले भन्नुभयो ।