१५ चैत्र २०८०, बिहीबार
Follow Us

शिव कल्चरल कम्युनिटी सेन्टरले दशैं पूजा गर्ने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार ०८:०७

लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टर यूकेले यस वर्ष पनि दशैं पूजा व्यवस्थापन गर्ने भएको छ । सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीयवासीलाई दशैं पर्वका अवसरमा हुने पूजा-पाठ, जमरा स्थापना, कालरात्री र दशैं महत्वबारे साक्षात्कार साथै भजन कीर्तनमा सहभागी हुन आव्हान गरेका छन् । उनले समस्त भक्तजन एवं धर्मावलम्वीहरुलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्न गराउन पनि आव्हान गरेका छन् ।

सेन्टर अल्डरसट, फार्नबोरो र वरपर क्षेत्रका भारतीय एवं नेपाली वासिन्दाहरुका निम्ति विजय दशमी पर्व सामूदायिक रुपमा मान्न कटिवद्ध छ । त्यस्तै सनातन धर्मका आधारमा सांस्कृतिक पर्वमा सरिक हुने सिलसिला सन् २००४ देखि नै शुरु भएको पनि अध्यक्ष गुरुङले जनाएका छन् ।

‘शिव कल्चरल कम्युनिटी सेन्टरले सामाजिक संस्थाको रुपमा समाजमा हातेमालो गर्दै नेपाली संस्कृति, धर्म 
रितिरिवाज जर्गेनामा आफ्नो विशेष भूमिका र सामाजिक योगदानबाट पछि हटेको छैन्’, विज्ञप्तिमा उल्लेख छ, ‘सेन्टरले विगत ७ वर्ष देखि शिव मन्दिरको परिकल्पना गरेर विगत तीन वर्ष देखि शिव मन्दिर स्थापना गरी पूजा, ब्रत, तीज, जनै पूर्णिमा, गुरु पूर्णिमा, कृष्ण जन्माष्टमी, रामनवमी, होली र विजय दशमी जस्ता पर्वहरु पण्डित पूजारीको व्यवस्था गरि 
सञ्चालन गर्दै आएको छ ।’

अल्डरसट र फार्नबोरो क्षेत्रमा बसोवास गर्ने धार्मिक अनुयायीहरुका लागि मन्दिर अत्यावश्यक भएपनि आफ्नै भवन नहुंदा सेन्टरले एम्पायर हलमा मासिक ५०० पाउण्ड भाडा बुझाई एउटा कोठामा काम चलाइरहेको छ ।

मन्दिर निर्माणका लागि समाजका विशेष व्यक्तित्वहरुद्वारा तीन वर्षसम्म किस्तावन्दीका रुपमा बुझाइएको रकम करिब ८० हजार पाउण्ड सेन्टरसंग भएको र गत वर्ष ७० हजार पाउण्ड प्रतिवद्धता आएको जनाउंदै अध्यक्ष गुरुङले मन्दिर स्थापना गर्न स्थानीय 
व्यापारी, सामाजिक कार्यकर्ता, अभियन्ता एवं 
चन्दादाताहरु, कलाकार, सञ्चारकर्मी आदिबाट सहयोग अपिल गरेका छन् ।