१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महिला हत्यामा संलग्न पक्राउ

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार ११:२३

चितवन । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन ।
अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । निजलाई म्याद थप गरी कर्तब्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ ।

त्यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पत्रकारसम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ । भरतपुर महानगरपालिका–१ का २२ वर्र्षीय विवेक खतिवडालाई सात र चार वर्र्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो ।
पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो ।
सो अवसरमा दिइएको जानकारीअनुसार प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न नवलपुरको गैंँडाकोट नगरपालिका–१ का ३४ वर्षीय खुमराज सापकोटालाई नारायणगढबाट पक्राउ गरिएको छ ।
प्रहरीले महिलालाई होटलमा राखेर वेश्यावृत्ति गराएको अभियोगमा खैरहनी नगरपालिका–११ का ३८ वर्षीय रमेश थापालाई भरतपुर बसपार्कबाट पक्राउ गरेको छ । निजले भरतपुर बसपार्कमा रहेको थापा गेष्टहाउसमा महिलालाई राखी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

२१ जना जुवाडे पक्राउ
चाडपर्व नजिकिँदै गर्दा प्रहरीले जुवा, तास नियन्त्रण अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत मंगलबार राति ११ बजे भरतपुर ओरालोको थकाली भान्साघर तथा गेष्टहाउसमा कौडा खेलिरहेको अवस्थामा अमेरिकी डलर एक सय र भारतीय रुपैयाँ ५० सहित १२ लाख ३७ हजार ३१० रुपैयाँसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।