७ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार १४:५८

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गर्नुभएको छ ।
जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँगे्रस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भन्नुभयो । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँगे्रसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गर्नुभयो ।
मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उहाँले उल्लेख गर्नुभयो र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँगे्रसलाई अग्रस्थान दिलाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिनुभयो ।
जनकपुरको विकासका सन्दर्भमा भारतीय पक्ष जटही नाका खोल्न राजी भएको पनि उहाँले बताउनुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताउनुभयो ।
महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली काँगे्रस पर्याय भएकाले मधेशमा काँगे्रसलाई पहिलो दल बनाउन आवश्यक छ भन्नुभयो ।
पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताउनुभयो ।
नेपाली काँगे्रस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको सो सभामा केन्द्रीय सदस्य बालकृष्ण खाँण, आनन्दप्रसाद ढुंगाना, प्रदीप गिरि, महेन्द्र यादव, रामकृष्ण यादव, सांसदहरू लीला कोइराला, चन्द्रमोहन यादव र प्रेमकिशोर साहले पनि सम्बोधन गर्नुभएको थियो ।