१२ बैशाख २०८१, बुधबार
Follow Us

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र:अध्यक्ष थापा

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार १५:१२

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय तहका अध्यक्षको सम्मेलनको उद्घाटन गर्दै उहाँले आफ्नो पार्टी विभाजन देशी विदेशी शक्तिको डिजाइनअनुसार नै भएको आरोप लगाउनुभयो ।

मनोनित गरिएका केही सांसदले समेत पार्टी फुटाउने काम गरेको बताउँदै उहाँले पार्टी विभाजनबाट कत्ति पनि चिन्तित भएर विचलित नहुनसमेत पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि तयारी गर्न नसक्नु मुख्य कारण रहको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहमहामन्त्री हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरू तोरणबहादुर गुरुङ, भिमसेन गुरुङ, कुलबहादुर गुरुङलगायतका वक्ताहरूले पार्टीको गतिविधिका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा यस क्षेत्रका १६ वटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरूको सहभागिता रहेको छ ।