८ बैशाख २०८१, शनिबार
Follow Us

आचारसंहिताको व्यापक उल्लंघन, कारवाही स्पष्टीकरणमै सीमित

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार १५:१९

काठमाडौं । आचार–संहिताले रोकेपनि सत्तारुढ, विपक्षी र मधेस केन्द्रित सबै दलले चुनावी प्रचारमा बालबालिकाको अत्यधिक प्रयोग गरेका छन् । बाजागाजासहित उम्मेदवार गाडीको लावालस्कर लिएर मतदाताबीच पुग्नुलाई सामान्य मानिएको छ ।
चुनावी अभियानमा सहभागि नेता कार्यकर्ता पार्टी झण्डा र चुनाव चिह्न अंकित टिसर्ट, टोपी र गम्छामा सजिएका देखिन्छन् । निर्वाचन आचार–संहिताले टिसर्ट, टोपी र गम्छन बाँड्न रोक लगाएको छ ।
आचार–संहिता विपरित उम्मेदवारको फोटोसहितका ठूला–ठूला ब्यानर जताततै देखिन्छ । आर्थिक हैसियत बलियो भएका उम्मेदवारले ठूला झण्डा, माइक, ‘डिजे’ र धेरै सवारी साधन प्रयोग गरी प्रचारलाई ‘भव्य’ बनाउने नाममा आचार–संहिताको बढी उलंघन गरिरहेका हुन् । निषेध भएपनि धार्मिक, पुरातात्विक स्थल र सार्वजनिक भवन, स्मारक, पर्खाल, खम्वामा पर्चा–पोष्टर टाँसिएको छ ।
खानपान र भोजभतेरमा पनि उम्मेदवारले मन फुकाएर खर्च गरेका छन् । निर्वाचन आयोगले आठै जिल्लामा खटाएको अनुगमन टोली सक्रिय नबन्दा पनि आचार–संहिता उलंघनमा बल पुगिरहेको हो ।
तर, निर्वाचन आयोग र स्थानीय प्रशासन भने लिखित उजुरी नगर्ने प्रबृत्तिले उलंघनकर्तालाई कारवाही गर्न समस्या भएको बताउँछन् । उलंघनको क्रम निकै बढेपछि आयोगको आग्रहमा प्रहरीले बारा, पर्सा, महोत्तरीलगायत जिल्लाका नगर क्षेत्रमा आचार–संहिता विपरित प्रयोग गरिएका प्रचार सामग्री हटाउन थालेको छ ।
निर्वाचन जित्नकै लागि लाखौ खर्च गर्ने प्रबृत्ति, आयोगको सुस्त अनुगमन र कारवाहीका नाममा स्पष्टीकरणभन्दा माथि उठ्न नसक्ने आयोगकै व्यवहारले पनि आचार–संहिता उलंघनलाई प्रोत्साहित गरिरहेको हो ।