१५ चैत्र २०८०, बिहीबार
Follow Us

मलेसियाको एक विद्यायलमा आगलागी हुदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार ११:०८

कवालालम्पुर । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ ।
यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो ।

यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ बर्षका रहेका जनाइएको छ । अधिकारीहरुका अनुसार केही बर्षयता भएका भीषण आगलागी मध्ये यो सबैभन्दा खतरनाक हो ।

आगलागी बिहीबार बिहानको मिर्मिरेपूर्व नै भएको थियो । त्यस समयमा बालकहरु सुतिरहेको अनुमान गरिएको छ ।

बिहानीको हिँडाई (मर्निङ वाक) का लागि नागरिकहरु सडकमा गएका बेला उक्त विद्यालयको माथिल्लो तलामा आगोको मुस्लो निस्किएको देखेका थिए ।

साथै बालकहरुले भित्रबाट बचाउ बचाउ भन्दै रोइरहेको आवाज पनि उनीहरुले सुनेका थिए । त्यसपछि उनीहरुले नै प्रहरी र दमकललाई खबर गरेको बताइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरको मध्य भागमा रहेको इस्लामिक धार्मिक विद्यालय ताहफिजमा बिहीबार विहानै आगलागी सुरु भएको थियो ।

स्थानीय टेलिभिजनहरुले देखाएका दृश्यहरुमा आगलागीको कारण ठूलो धुवाँको मुस्लो र खरानी उडेको तथा सो विद्यालयबाट किशोरहरु भाग्ने कोशिस गरिरहेका र भागेका देखिन्छ ।

क्वालालम्पुरका प्रहरी प्रमुख अमर सिंहका अनुसार सो आगलागीमा परी मृत्यु भएका व्यक्तिको शरीर पूरै जलेको थियो ।
दुर्भाग्यबस यस विद्यालयमा एउटै मात्र प्रवेशद्धार रहेको र सवै शवहरु एकको माथि अर्को गरी त्यहीँ थुप्रिएको दृश्य पनि टेलिभिजनहरुले देखाएका छन् ।

मलेसियाको आगलागी उद्धार विभागका निर्देशक खिरुदिन ड्राहम्यानले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुुसार यो यस देशको २० बर्षयताको सबैभन्दा भीषण आगलागी हो ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा उक्त विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ ।