८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश २ को चुनाव प्रचार खर्चिलो र भडकिलो

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार ११:५८

रौतहट । पटक पटकको आन्दोलन र बाढीको चपेटमा परेको रौतहटका जनता यतिखेर भने जनप्रतिनिधि छान्ने चटारोमा छन् । चुनावको मिति नजिकिँदै गर्दा रौतहटका उम्मेदवारहरु मतदातालाई आफनो पक्षमा पार्न प्रचार प्रसारमा केन्द्रित बनेका छन् । चुनावको मिति नजिकिएसँगै रौतहटका उम्मेदवारलाई मतदाता फकाउन भ्याई नभ्याई भएको हो ।
मतदाता रिझाउनकै लागि उनीहरु चोक, बजारमा जनशक्ति प्रदर्शन गर्नेदेखि घरदैलो र सार्वजनिक स्थलमै भोजभतेर गरिरहेका छन् । सबैजसो उम्मेदवार कुनै न कुनै रुपमा आचारसंहिताको उल्लंघनमा जोडिएका छन् ।
एकार्काबीचको प्रतिस्पर्धा र होडवाजी आचार संहिता उल्लंघनको कारक बनेको छ । यसैले त निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएकामा पटक पटक सचेतसमेत गराउनु परेको छ । निर्वाचन प्रचारमा बढिभन्दा बढि गाडी प्रयोग गर्नुका साथै बाजागाजा सहितको नाचगान प्रदर्शन गर्न थालेपछि चुनाब भडकिलो र खर्चिलो बन्दै गएको छ ।
यद्यपि, उम्मेदवारहरुको प्रतिस्पर्धाले भने चुनावी माहौललाई निकै नै तताएको देखिन्छ । एक अर्काको देखासिखी गर्दा खर्च बढेको प्रचारमा खटिएका कार्यकर्ता नै स्वीकार्छन् । अझ राजनीतिक दल र तिनका उम्मेदकारले आचार सहिता बिपरित चुनावी प्रचारमा बालबालिका समेतको अधिक प्रयोग गरेका छन् ।
यसैका कारण चुनावी प्रचारकै क्रममा १५ बर्षिय एक बालकको ट्याक्टर दुर्घटनामा मृत्यु नै हुन पुगेको छ । अर्काे स्थानमा दुई बालबालिका घाईते भएका छन् ।
जुन दलहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हो । तर उनीहरु बाजागाजासहितको नाचगान हुँदा बालबालिका र्‍यालीमा आकर्षित भएको हुनसक्ने तर्क गर्छन् ।
ठूला ठूला प्रचार सामग्री बनाएर मतदातालाई लोभ्याउन लागेका उम्मेदवारले नियम विपरित सवारी साधन प्रयोग गर्ने, हेल्मेट नलगाईकनै मोटरसाईकल र्‍याली निकाल्ने, कार्यकर्तालाई चुनाव चिह्न भएको रुमाल, टोपी, टिसर्ट लगाएर प्रचारमा उतार्ने जस्ता आचारसंहिता विपरितका काम गरिरहेका छन् ।
सवारी साधन आफ्ना कारणलेभन्दा पनि कार्यकता स्वतस्फूर्त आउने भएकाले बढी देखिएको तर्क गरुडा नगरपालिकाका एक उम्मेदवार कन्तमणी जैयसवाल बताउँछन् ।
चुनावको अवस्था हेर्दा दल र तिनका उम्मेदवार साम, दाम, दण्ड, भेद लगाएर जसरी पनि चुनाव जित्ने खेलमा लागेको देखिन्छ । त्यसैले त आफ्ना उम्मेदवार जिताउन कांग्रेस, एमाले र माओबादी, दुबै फोरम, राजपालगायत दलका शीर्ष नेताको दौडाहा पनि अहिले २ नम्बर प्रदेशमै केन्द्रित रहेको छ ।