१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७४, बिहीबार १५:१४

काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न आजदेखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ ।
सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान-बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित निकायलाई दिइने छ । सेवाबाट मुलुकभरका कुनै पनि अदालतमा हुने कार्यक्रममा सीधै प्रधानन्यायाधीश तथा न्यायधीशले प्रशिक्षण, तालिम र गोष्ठी समेत सम्बोधन गर्ने छन् ।
भिडियो कन्फेरिन्सङ सेवाको आज प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान र पोखराका मुख्य न्यायधीश पुरुषोत्तम भण्डारीसँग कुराकानी गरेर शुरुआत गर्नुभयो ।
सो अवसरमा प्रधानन्यायाधीश पराजुलीले सो सेवाबाट न्याय सम्पादन छिटो छरितो, सहज र सुलभ हुने बताउनुभयो । अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले न्यायालयलाई प्रविधिमैत्री बनाउन कन्फेरेन्सिङ सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले न्यायपालिकालाई कागजविहीन बनाउने अवधारणानुरुप कागजी पत्राचारको सट्टा सफ्टवेयरको प्रयोग गरी अनलाइनबाट सेवा दिन थालिएको बताउनुभयो ।
सर्वोच्च अदालतले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनानुसार ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ दिन सेवा शुरु गरेको सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।